बेलायतमा गरेको एउटा अध्ययनले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन दैनिक एक गिलास दूध सहयोगी हुने निष्कर्ष निकालेको छ । अनुसन्धानकर्ताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा धेरै महिलाको खानाको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेका बीबीसीले जनाएको छ ।
क्याल्सियम भएका खाना नियमित खानेमा आन्द्राको क्यान्सर हुने जोखिम कम देखिएको हो । गाईको दूध र सागपातबाहेक नरिवल वा बदामलगायतबाट बनाइने दूध खाँदा पनि आन्द्रामा क्यान्सरको जोखिम गर्न मद्दत पुग्ने अध्ययनमा संलग्नहरूको निष्कर्ष छ । तर सबैभन्दा सजिलो र प्रभावकारी उपाय दैनिक एक गिलास दूध पिउनु रहेको अक्सफोर्ड विश्वविद्यालय र क्यान्सर रिसर्च सेन्टर बेलायतले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनमा भनिएको छ ।
बेलायतमा आन्द्राको क्यान्सर चौथो ठूलो क्यान्सर समस्या हो । यस्तै अत्यधिक जाँड–रक्सी र प्रशोधित मासु खानाले आन्द्रामा क्यान्सर हुने जोखिम बढाउने देखिएको छ । प्रतिवेदनले स्वस्थ तथा सन्तुलित आहार, स्वस्थ तौल र चुरोट नखानु आन्द्राको क्यान्सरको जोखिम कम गर्ने सबैभन्दा उत्तम उपाय भएको पनि देखाएको छ ।
हरेक व्यक्तिको आन्द्रामा क्यान्सर हुने जोखिम उसको जीवनशैली, आहार, आनीबानी र आनुवंशिकतामा भर पर्ने भएकोले जोखिमको प्रतिशत ठ्याक्कै मापन गर्न भने सहज छैन । आन्द्राको क्यान्सर जोखिम घटाउनुसँगै हड्डीलाई बलियो बनाउन र दाँत स्वस्थ राख्न पनि दूध तथा दुग्धजन्य खाना महत्त्वपूर्ण छ ।