Aamsanchar

बालीनालीमा छरेको विषादीले मौरी सखाप

Author Image
मङ्गलवार, वैशाख २३, २०८२

पाल्पा – पाल्पाको रामपुरका मौरीपालक किसान विषादीका कारण मौरी सखाप हुन थालेपछि चिन्तित छन् ।

विषादीले ८५ गोलाघारमा तयार गरिएको मौरी सबै क्षति हुन पुगेको रामपुर नगरपालिका–६ किसान टोलका किसान जयनारायण न्यौपानेले बताउनुभयो ।

छिमेकीले बालीनालीमा विषादी छरेका कारण फार्ममा भएका मौरी मरेर झन्डै सात लाख रुपैयाँ बराबरको नोक्सानी बेहोर्नुपरेको उहाँको भनाइ छ ।

मौरीघार न्यौपानेलाई आम्दानीको स्रोतमात्र नभई दिन बिताउने माध्यम पनि बनेको थियो । तर विषादीका कारण घारमा रहेका मौरी मरेर सखाप भएपछि उहाँ चिन्तित हुनुहुन्छ ।

उहाँले पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, झापालगायत विभिन्न जिल्लामा मौरी तथा घार पठाउने गर्नुभएको थियो । उद्योगमा नै मौरीघार तयार पारिने भएको हुँदा विभिन्न जिल्लाबाट घार खरिद गर्न आउने गरेका छन् ।

मौरीलाई जोगाउन स्थानीय निकायबाट किसानलाई चेतनामूलक कार्यक्रम ल्याउन न्यौपानेको माग छ ।

मौरीपालन क्षेत्र अध्ययन गरेर कुन समयमा विषादी छर्कँदा उपयुक्त हुन्छ भन्नेबारेमा किसानलाई सुसूचित गराउन पूर्वजानकारी दिएमा किसानले पनि उपयुक्त समयमा विषादी प्रयोग गर्ने उहाँको भनाइ छ ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर