Aamsanchar

काठमाडौं मखन टोलमा भीषण आगलागी नियन्त्रणमा, एक महिलाको मृत्यु

Author Image
बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ अन्तर्गत मखन टोलमा आज दिउँसो भएको भीषण आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ। दमकल, नेपाली सेना, सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगो निभाइएको हो।

आगलागी नियन्त्रण गर्न काठमाडौं र ललितपुरबाट ६ वटा दमकल प्रयोग गरिएको काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। घटना स्थल सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा पर्छ।

प्रहरीका अनुसार आगो दयाराम श्रेष्ठको माटो र काठले बनेको ४ तले कच्ची घरको तेस्रो तलाबाट सुरु भएको हो। सो स्थानमा ग्यास लिक भएर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दयाराम श्रेष्ठको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो। घटनामा परी एक महिलाको मृत्यु भएको छ भने उनको सनाखत अझै हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीय प्रशासनले घटनास्थलको प्रारम्भिक मूल्याङ्कन गरिरहेको छ। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर