Aamsanchar

कञ्चनजङ्घा हिमालको आधार शिविरमा टावर निर्माण गरिदिन दूरसञ्चार प्राधिकरणलाई आग्रह

Author Image
सोमवार, जेठ ५, २०८२

फुङलिङ- कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरिएको छ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा टावर निर्माण गरिदिन प्राधिकरण समक्ष आग्रह गरेको हो ।

पालिका उपाध्यक्ष डा. चित्र माबोले प्राधिकरणलाई पत्र प्रेषण गर्दै आग्रह गरेको बताउनुभएको छ । पालिकाको ८ नम्बर वडा याम्फुदिनमा अवस्थित आधार शिविरमा पर्ने नयाँझोरेनी, झण्डेडांडा, दुन्दुडाँडा, तोरोङदेन क्षेत्रमा सञ्चार सेवाको विस्तार गरी कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई सहजता प्रदान गर्न तत्काल टावर निर्माणको पहल अगाडि बढाइ दिन पत्रमार्फत आग्रह गरिएको छ ।

सञ्चारको सुविधा उपलब्ध भएमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने प्रचारप्रसारमा समेत थप टेवा पुग्ने पालिकाको विश्वास रहेको छ । गाउँपालिकाको झण्डेडाँडामा टावर निर्माण गरिदिन पालिकाले आग्रह गरेको हो । तत्काल टावरको व्यवस्थापन गर्न नसके विकल्पमा स्टारलिंक नेट राख्न अनुमति प्रदान गरिदिन माग गरिएको छ ।

आठ हजार पाँच् सय ८६ मिटर उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहण गर्न साथै हिमालसँग रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरू दक्षिणी आधार शिविरको ओक्ताङसम्म पुग्ने गरेका छन् ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर