Aamsanchar

स्थानीय विकास निर्माणमा सञ्चारको भूमिका, पालिकाको अपेक्षा तालिम सम्पन्न

Author Image
शनिवार, जेठ १०, २०८२

गौरादह –गौरादह नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापांद्वारा आयोजित स्थानीय विकास निर्माणमा सञ्चारको भूमिका, पालिकाको अपेक्षा र स्थलगत रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम गौरादहमा सम्पन्न भएको छ । आयोजक संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।
तालिममा विकास पत्रकारिता, विकास पत्रकारिताको महत्व र पत्रकारले ध्यान दिनुपर्ने कुरा र अपनाउनुपर्ने सजगता, तथ्यको महत्व, विकास तथा खोज पत्रकारिता सम्बन्धी अन्यदेशमा भएका अभ्यास, स्थानीय विकासमा त्यसले पार्ने प्रभाव, खोज पत्रकारिता र खोज पत्रकारिताले ल्याउने परिवर्तन लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिम पश्चात सहभागीहरुले नगरपालिका समेतको लागत सहभागीतामा सञ्चालित विउ, उत्पादन, परालबाट उत्पादित साइलेन्स घाँस उत्पादन तथा विक्री वितरण र परियोजना, जातीय पोशाकको संरक्षणका लागि सञ्चालित पेटानी बुनाई तालिम लगायतका कृषि तथा लक्षित कार्यक्रमका विषयमा स्थलगत रिपोर्टिङको अभ्यास गरेका थिए ।
गौरादह नगरपालिका वडा नं ५ मा अवस्थित नमुना पाहुना घरमा जेठ ९ गते देखि शुरु भएको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँलेले गर्नुभएको थियो भने तालिममा गौरादह नगरपालिका, दमक र बिर्तामोडकासहित पत्रकारहरुको सहभागिता रहेको थियो ।
यसअघि शुक्रबार तालिमको तालिमको उदघाटन गर्दै गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीले सञ्चार र स्थानीय तहबीचको सम्बन्ध समन्वयकारी हुनुपर्नेमा जोड दिंदै स्थानीय तहले गरेका कामहरुबारे पनि उजागर गरेर मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । जनताका असिमित चाहना सिमित स्रोत परिचालनबाट काम गर्नुपर्ने बाध्यात्मक परिस्थितिबारे पनि बुझ्न र बुझाउन जरुरी रहेको बताउनु भयो । साथै नगरपालिकामा समुदाय लक्षित, विभिन्न जातजाति लक्षित, उद्यमशीलता, आयआर्जन तथा स्थानीयको मौलिक भेषभूषाको संरक्षणमा नगरले गरेका प्रयास, अपाङ्गता तथा अन्य विकास निर्माणका क्षेत्रमा भएका कार्यक्रमबारे जानकारी दिनुभयो ।
सो अवसरमा बिशेष अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले नगरमा सञ्चालित भौतिक पूर्वाधार तथा विकास निर्माणका योजना र तिनीहरुको निर्माण अवस्थाबारे जानकारी दिनुभएको छ ।
आयोजक संस्थाकी सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत तालिम संयोजक दिपा पोखरेलले गर्नुभएको थियो । गौरादह नगरपालिका वडा नं.३ की वडासदस्य कल्पना अधिकारी लगायतले मन्तव्य राख्दै वास्तविक समाचार र सामाजिक सञ्जालमा पोष्ट गरिने कुराको सत्यता जाँच सम्बन्धी तालिमको आवश्यकता औल्याउनु भयो । स्थानीय तह र सञ्चार क्षेत्रलाई जोड्ने उद्देश्यले आयोजित तालिम समापनका क्रममा सान नेपाल र सिर्जना परियारले तालिम महत्वपूर्ण रहेको धारणा राखेका थिए ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर