

हनोई – भियतनामको राजधानी हनोईको राजकीय भ्रमणका क्रममा फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँ आफ्नो विमानबाट ओर्लंदै गर्दा एउटा अनौठो घटना घट्यो। सुरक्षाकर्मीहरूले विमानको ढोका खोल्दै गर्दा फ्रान्सेली राष्ट्रपतिलाई गालामा थप्पड हानेको देखिन्छ।

जुन घटनाले अहिले विश्व चर्चा पाइरहेको छ। फ्रान्सेली राष्ट्रपतिलाई थप्पड हानेको यो घटनाले सामाजिक सञ्जालमा सनसनी मच्चायो। यो घटना च्यानल र पत्रपत्रिकामा समाचार बन्यो।

ठ्याक्कै भन्नुपर्दा कसैले उसको अनुहार कन्याएको वा अनुहारमा मुक्का हानेको जस्तो देखिन्थ्यो। विमानका तल सञ्चारकर्मी भेला भएका थिए र क्यामेराहरू सक्रिय थिए। त्यसैले घटनाको हरेक क्षण सञ्चारकर्मीले क्यामेरामा कैद गरिरहेका थिए। थप्पड हानेपछि फ्रान्सेली राष्ट्रपति छक्क परे‚ उनले अचानक जहाज बाहिर मिडियाका क्यामेरा छन् भन्ने सम्झिए।


अनि उनी जहाजको ढोकाबाटै अलिकति मुस्कुराउँछन्‚ क्यामेरासामु हात हल्लाउँछन् र असहज मानेर यसो छेकिन्छन्। केही समयपछि फ्रान्सेली राष्ट्रपति विमानबाट ओर्लन्छन्। उनकी श्रीमती ब्रिजित माक्रोँ पनि उनीसँगै हुन्छिन्। राष्ट्रपति माक्रोँले आफ्नी श्रीमतीको हात समाउन खोज्छन् तर ब्रिजितले उनीतिर फर्केर पनि हेर्दिनन्।
फ्रान्सेली दैनिक पत्रिका ‘ल पारिज्याँ’ले ‘थप्पड कि झगडारु ’ शीर्षकमा समाचार छापेको थियो। शुरुमा त फ्रान्सेली राष्ट्रपतिको दरबारले यसलाई एआईले बनाएको नक्कली भिडियो भनेर टार्न खोजेको थियो तर केही समयपछि आर्टिफिसियल इन्टेलिजेन्सद्वारा बनाएको नभई वास्तविक हो भनेर पुष्टि भयो। पछिका कार्यक्रममा पनि राष्ट्रपति माक्रोँको अनुहार कोतरिएको देखिन्थ्यो।
यो घटनाले फ्रान्सेली राष्ट्रपति माक्रोँ र उनकी श्रीमतीबीचको सम्बन्ध पुनः चर्चामा आएको छ। यी दुईबीचको प्रेमकथा कुनै वेला निकै चर्चित थियो। फ्रान्सको एउटा स्कूलबाट प्रेम सुरु भएको थियो‚ जहाँ एमानुएल माक्रोँले पढेका थिए र ब्रिजित त्यो स्कूलकी शिक्षिका थिइन्।
एमानुएल माक्रोँ र ब्रिजितको प्रेमकथा सन् १९९३ मा सुरु भएको थियो‚ त्यतिखेर माक्रोँ १५ वर्षका थिए। त्यति वेला ब्रिजित ३९ वर्षकी थिइन्। त्यतिखेर ब्रिजित उनको हाई स्कूलकी नाटक शिक्षिका थिइन् र उनका तीन सन्तान थिए।
एक दिन स्कूलमा पढ्दै गर्दा एमानुएल माक्रोँले ब्रिजितलाई ‘द आर्ट अफ कमेडी’ का केही भाग पुनर्लेखन गरेर आफूलाई दिन सहयोग माग्छन्। ब्रिजित पनि सहयोग गर्न राजी भइन् र स्क्रिप्टको बारेमा छलफल गर्न शिक्षिका र विद्यार्थीबीच बारम्बार भेट हुन थाल्यो।
यो भेटले दुवै बिस्तारै एकअर्काप्रति आकर्षित हुन थाले र त्यसपछि ती शिक्षिका र माक्रोँले प्रेम सबन्ध गाँसे। ३९ वर्षीया शिक्षिकाको १५ वर्षे विद्यार्थीसँगको सम्बन्ध काण्ड नै बन्यो। निकै आलोचना हुन थालेपछि ब्रिजितले आफू एमानुएल माक्रोँको बुद्धिमत्ताबाट निकै प्रभावित भएको स्वीकार गरिन्। बिस्तारै उनीहरूको प्रेम सम्बन्धको बारेमा हल्ला फैलिन थाल्यो र माक्रोँको परिवारले यो सम्बन्धलाई स्वीकार गरेन।
माक्रोँलाई ब्रिजितबाट टाढा राख्न उनको परिवारले उनलाई राजधानी पेरिस पठाउने निर्णय गर्यो। त्यति वेला एमानुएल १७ वर्षका थिए। पेरिस जानुअघि एमानुएलले ब्रिजितलाई भेटेर ‘तिमी जेसुकै गर‚ म तिमीसँग विवाह गर्नेछु’ भनेर वाचा गरे। १७ वर्षे किशोरले पछि आफ्नो वचन पूरा गरे र २००७ मा ब्रिजितसँग विवाह गरे।
विवाह गर्दा एमानुएल २९ वर्षका थिए भने ब्रिजित ५४ वर्षकी थिइन्। एमानुएलसँग बिहे गर्नका लागि ब्रिजितले सन् २००६ मा पहिला पतिसँग सम्बन्धविच्छेद गरिन्। त्यतिखेर उमेर अन्तर र शिक्षिका-विद्यार्थीको बिहे भएकाले यसको निकै चर्चा भएको थियो।
माक्रोँको यो भ्रमण एक दशकपछि फ्रान्सेली राष्ट्रपतिको पहिलो भियतनाम भ्रमण हो। एशिया प्रशान्त क्षेत्रमा फ्रान्सको प्रभावलाई बढाउने उद्देश्यले गरिएको उक्त भ्रमण थप्पडको कारणले अधिक चर्चामा छ।

