Aamsanchar

परैबाट विष वमन गर्ने ‘स्प्रिङ कोब्रा’ मोरङमा फेला

Author Image
बुधवार, जेठ १४, २०८२

मोरङ – विरलै पाइने ‘स्प्रिङ कोब्रा’ नामको गोमन सर्प विराटनगरमा फेला परेको छ । परैबाट विष वमन गर्ने यो खतरनाक प्रजातिको गोमन सर्प हो । विराटनगर–४ स्थित नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको निवासमा यो मंगलबार अपरान्ह भेटिएको हो । सर्प उद्धार टोलीले उक्त सर्पलाई नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय मोरङमा बुझाएको छ । तर, उद्धारको क्रममा सर्पले परैबाट विष फाल्दा महानगरपालिकाका उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ ।

उनी हाल कोशी अस्पताल, विराटनगरको आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । उनको स्वास्थ्य स्थिति खतरामुक्त रहेको जनाइएको छ । चिकित्सकका अनुसार, यस्ता सर्पको विष विशेषगरी अनुहार र आँखामा परे गम्भीर असर गर्न सक्छ । यसले अस्थायी अन्धोपनदेखि स्थायी दृष्टि गुम्नेसम्मको खतरा ल्याउन सक्छ ।

नेपालमा विरलै मात्र देखिने ‘स्पिटिङ कोब्रा’ दक्षिण एसियाली भूभागमा पाइने एक विशिष्ट प्रजाति हो, जसले आफ्नो सिकार वा खतरा महशुस गरेपछि परैबाट विष थुकेर आक्रमण गर्छ । वन तथा स्वास्थ्य निकायका अनुसार, यो प्रजाति विशेष गरी गर्मी मौसममा बाहिर देखापर्न थाल्छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाले गर्मी मौसममा तराई–मधेश क्षेत्रमा सर्पदंशको जोखिम अत्यधिक बढ्ने जनाएको छ । विशेषगरी झाडी, बगैंचा, गोठ र घरको चिसोरअँध्यारो स्थानहरूमा यस्ता विषालु सर्प लुकेर बस्ने गर्छन् । महाशाखाले अन्य क्षेत्र वा घर आसपास यस्ता अनौठा वा विषालु सर्प देखिएमा तुरुन्त जानकारी गराउन अनुरोध समेत गरेको छ ।

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर