[अमित खम्बू]
अर्जुनधारा।
झापा अर्जुनधारा नगरपालिकामा केही महिना अघि गठन भएको अर्जुनधारा युथ क्लब(एवाईसी)को नेतृत्वमा सडकको स्तरोन्नती गरिएको छ ।
ग्रामिण क्षेत्रको विकासमा जुट्दै एवाईसीले बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक अन्तर्गतको गणेश पथ–नारायण चौक–गढीगाउँको सडकमा रहेका खाल्डाहरु पुरेको हो ।
स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको क्रममा उम्मेदवारहरुसँग हिंड्ने कामलाई थाती राख्दै क्लबमा आवद्ध युवाहरुले शनिबार तातोघामको बेवास्ता गर्दै नगरपालिकाभित्रको मुख्य सडक बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक अन्तर्गतको गणेश पथ–नारायण चौक–गढीगाउँको सडकमा रहेका खाल्डाहरु पुरेका थिए ।
‘येस वी क्यान्’ अंकित सेतो टि–सर्ट लगाएका ४० जना युवाहरुको समूहले केहीले हातमा कोदालो, केहीले बेल्चा बोकेर सडकको खाल्डो पुरिरहेका, केहीले सो सडकमा आवागमन गर्ने सवारीसाधन सञ्चालनमा सहजीकरण गरिरहेका थिए । कार्यक्रममा भेटिएका एक स्थानीय भन्दै थिए–‘निर्वाचनको मुखमा कुनै राजनीतिक दलको अगुवाईमा गरिएको कार्य पो होला भनेको त क्लबले सञ्चालन गरेको सामाजिक अभियान पो रहेछ ।’
कालोपत्रे सो सडकमा देखिएका असंख्य खाल्डोहरु सम्बन्धित निकाय र सरोकारवालाहरुले बेवास्ता गरेपछि क्लबले सडकमा सवारीसाधन आवागमनमा सहजता ल्याउन र सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न सो खाल्डोहरु पुरेको क्लबका अध्यक्ष उत्सव ढकालले बताए ।
क्लबले सातौं हप्ताको सरसफाई अभियान अन्तर्गत स्थानीयस्तरमा रहेका क्रसर उद्योगका सञ्चालक र सो सडक भई सञ्चालन हुने ट्रिपर सञ्चालकहरुसँगको सहयोगमा तीन लाख ५० हजार रुपैयाँ बराबरको पुरुवाले सडकमा भेटिएका खाल्डोहरुमा पुरेको क्लबका सचिव विजय साङपाङ राईले जानकारी दिए ।
सरकारीस्तरमा हुने विकासका पूर्वाधारहरु कमसल सामग्रीहरु प्रयोग गरी निर्माण गरिएको हुँदा निर्धारित समयअघि भत्किने र जोखिम निम्तने हुँदो यो अभियान सम्बन्धित निकाय र सरोकारवालाहरुलाई सकारात्मक तवरबाट गरिएको एक प्रकारको सांकेतिक विरोध भएको सचिव राईले बताए ।
क्लबले गरेको सो कार्यलाई सम्पन्न गर्न व्यवसायीहरु विजय सेन्दाङ, सञ्जु भारती र सुरेश भण्डारीले सम्बन्धित क्रसर उद्योगका सञ्चालक र ट्रिपर सञ्चालकहरुसँग समन्वय गरेको अध्यक्ष ढकालले बताए । त्यसैगरी सोही क्लबले गत शनिबार छैंटौं सरसफाई सप्ताह अभियान अन्तर्गत झापाको अर्जुनधारा–७ स्थित शनिश्चरे आयुर्वेद औषधालय तथा शंकर हस्पिटल परिसर सरसफाई गरेको बताइएको छ ।