Aamsanchar

सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

Author Image
आइतवार, जेठ १८, २०८२

काठमाडौँ – यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले  जानकारी दिए । आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गरेको उनको भनाइ छ ।

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि भोलिदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनको भनाइ छ ।

यसैबीच आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’

Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर