Aamsanchar

खाडी मुलुकमा दिउँसो काम गर्न प्रतिबन्ध

Author Image
बिहिवार, जेठ २३, २०८२

काठमाडौँ – खाडीका ६ देशले तापक्रम बढेको भन्दै दिउँसोको समयमा घाम सिधा पर्ने स्थानमा काम गर्न प्रतिबन्ध लगाएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, ओमान र बहराइन देशहरूले अत्यधिक गर्मीबाट स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका हुन्।

 

जसमा देश अनुसार फरक-फरक मिति र समय निर्धारण गरिएको छ। गर्मी महिनामा खाडीमा औसत तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट)सम्म पुग्न सक्छ र ८० प्रतिशतभन्दा बढी आर्द्रतामा तापक्रम ५५ डिग्री सेल्सियससम्म पुग्छ ।

बाहिरी क्षेत्रको निर्माण क्षेत्रमा काम गर्ने नेपालीले गर्मी समय निकै कष्टकर हुने बताए । उनीहरूले तोकिएको समयभित्र आयोजनाका काम सक्नुपर्ने भएकोले काममा दबाब पुग्ने बताए ।

‘गर्मीमा काम गर्न कठिन नै हुन्छ । जुलाईदेखि सेप्टेम्बरसम्म दिउसो तीन घण्टा आराम गर्न पाइन्छ । तर, गर्मी समयमा बिहानदेखि नै घाम चर्किन्छ । यो साँझसम्म नै हुन्छ,’ साउदीको नियम प्रोजेक्टमा कार्यरत लमजुङ रमेश वाइवाले  भने,‘दिनमा एक दुई जना कामदार त ढलिरहेको नै हुन्छ । उनीहरूलाई चिसो ठाउँमा आराम गर्न लगाइन्छ । बिहान र बेलुका पनि ढलेको नै हुन्छ । कहिले काम गर्न आउँदा ढलेको हुन्छ । कहिले काम गरिरहेको वेला ढलेको हुन्छ । पसिनाहरू धेरै गइरहेको हुन्छ ।’

कुवेतले जुन १ देखि अगस्ट ३१ सम्म बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म बाहिर काम गर्न रोक लगाएको छ । यो समयमा बाहिर खुल्ला रूपमा काम लगाउने रोजगारदातालाई प्रति कामदार एक सय देखि दुई सय दिनार (करिब ९० हजार रुपैयाँ)सम्म जरिवाना लगाउने कुवेत सरकारले जनाएको छ । कुवेतले एउटै रोजगारदाताले तीन वर्षभित्र बारम्बार उल्लङ्घन भएमा दोब्बर सजाय हुने जनाएको छ ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर