Aamsanchar

नेपालले आज लाओससँग खेल्दै

Author Image
मङ्गलवार, जेठ २८, २०८२

काठमाडौं – एएफसी च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले आज लाओससँग खेल्दैछ। नेपाल र लाओसबिचको खेल नेपाली समय अनुसार पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ।

घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले बताए। मंगलबार बेलुका भएको खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरू सचेत रहेको बताए । लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने बताउँदै उनले भने, ‘मलाई लाग्छ, लाओस पूर्णरुपमा संगठित टोली हो। अत्यन्त आक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ । त्यसैले पनि हामीले भोलिको खेललाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौं । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेका छन् ।’

 

प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने संकेत गरेका छन् । उनले भने, ‘हङकङविरुद्ध मैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ । संभवतः हामी बलियो टोली मैदानमा उतार्ने छौं ।’

हङकङविरुद्धको खेलमा डिफेन्स सनिश श्रेष्ठ चोटिल अवस्थामा रहेका छन् । प्रेस कन्फ्रेन्सका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्ध खेल्न सधै सकारात्मक रुपमा तयार रहेको बताए । उनले भने, ‘लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार रहेका छौं । पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु । त्यसैले पनि भोलिको खेलका लागि हामी शारीरिक र मानसिक रुपमा तयार रहेका छौं ।’

साउदी अरबमा हुने च्याम्पियनसिपका लागि जारी छनोट अन्तर्गत समूह एफको पहिलो चरणको खेलमा नेपाली टोलीले अवे अन्तर्गत बुधबार लाओससँग प्रतिस्पर्धा गर्दैछ । यसअघिका विभिन्न ६ वटा खेलमा नेपालले ४ वटामा जित र दुई वटामा बराबरी खेलेको छ । तर, लाओसको घरेलु मैदानमा नेपालले एकमा जित र एकमा बराबरी गरेको छ । तेस्रो चरणको खेल अन्तर्गत नेपालले मलेशियासँग २ शून्य र लाओसले भियतनामसँग ५ शून्यको हार बेहोरेको छ ।

 

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर