
प्रतिकात्मक तस्बिर


मोरङ – मोरङस्थित पथरी-कानेपोखरी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।
बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए। पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरंगी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

शनिबार साँझ ८ बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो।
दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन्। विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ।
उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन्।
मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हो। यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ।

