

बिर्तामोड- भारत, बंगलादेश र भुटानका नागरिकलाई उपचारका लागि नेपालतर्फ आकर्षित गर्दै पूर्वी नेपाललाई हेल्थ टुरिजम हबको रूपमा विकास गर्न बिर्तामोडमा हेल्थ एण्ड टुरिजम मार्ट (मार्ट) आयोजना गरिँदैछ।
मार्टको मुख्य उद्देश्य झापा, मोरङ र सुनसरीका अत्याधुनिक स्वास्थ्य सेवा पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु रहेको संयोजक शेखर ढकालले जानकारी दिए। साथै, स्वास्थ्य पर्यटनसम्बन्धी नीति निर्माण, प्रविधिमैत्री उपचारको प्रवर्द्धन र स्थानीय सरकार, निजी क्षेत्र तथा सरोकारवालाबीच सहकार्यको अवसर सिर्जना मार्टमार्फत हुने उनले बताए।
पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाका अनुसार मार्टले स्वास्थ्य र पर्यटन क्षेत्रको एकीकरण गर्दै दिगो विकास, सीमापार उपचार सम्भावना र स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउनेछ। “यसले होटल, रेस्टुरेन्ट, यातायात, उपचार केन्द्रलगायत क्षेत्रमा रोजगारी र आम्दानीका अवसर पनि बढाउनेछ,” खतिवडाले उल्लेख गरे।
मार्टमा पत्रकार, हेल्थ टुरिजम विज्ञ, नगर प्रतिनिधि, चिकित्सक, योजनाकार र पर्यटन व्यवसायीहरूको सहभागिता रहने जानकारी होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले दिइन्।
नाट्टा कोशी प्रदेशको सहकार्यमा आयोजना हुने यो मार्ट नेपाल पर्यटन बोर्डको आयोजनामा, पर्यटन कार्यालय काँकरभिट्टा र होटल व्यवसायी संघ झापाको सहआयोजनामा असार १४ गते बिर्तामोडमा सम्पन्न हुनेछ। कार्यक्रममा नाटा काेसी प्रदेश अध्यक्ष उदय श्रेष्ठ, महासचिव नवीन खरेल, हाटल व्यवसायी संघका महासचिव शिवराज पाैडेल, सदस्य निरज सिटाैला लगायतकाे उपस्थित थियाे ।


