

विराटनगर – मोरङको धनपालथान गाउँपालिका–५ मा शव फेला परेकी नाबालिकाको हत्या आफ्नै काकाले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बलात्कार गरेर भतिजीलाई मारेपछि घटना लुकाउन शव फालिदिएको खुलेको हो ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बलात्कारपछि बालिकाको हत्या गरिएको घटनामा काका संलग्न रहेको पत्ता लगाएको हो । यद्यपि,प्रहरीले यसको आधिकारिक पुष्टि गरिसकेको छैन । हत्या गरेर फालेको अवस्थामा अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान फेला परेको थियो ।



घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव भेटिएको हो । अनुहार,घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव भेटियो थियो। हत्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान सुरू गरेको थियो । अनुसन्धानका क्रममा नाबालिकाका कान्छा काका अनिष सरदारलाई प्रहरीले नियन्त्रणमा लियो ।
प्रारम्भिक सोधपुछका क्रममा उनले घटना स्वीकार गरेनन् । अघिल्लो साँझ आफूले मदिरा सेवन गरेको स्वीकारेका छन् । प्रमाण संकलन गर्दै थप अनुसन्धान अघि बढाएको प्रहरी नाबालिकाको हत्यामा काका अनिष नै संलग्न रहेको निष्कर्षमा पुगेको हो । ‘उनी (अनिष) अहिले मानसिक रूपमा विक्षिप्तजस्तै छन् । आफ्ना कुरा राम्ररी बताउन सक्दैनन् । ´कहिले घटना गराएको हो भन्छन् ,` कहिले होइन भन्छन्,’ प्रहरी स्रोतले भन्यो ।
घटना भएका बेला वरपर अरु मानिसको ‘मुभमेन्ट’ नदेखिएको र काकासँगै रहेकी नाबालिकाको हत्या भएको पाइएपछि हत्यामा अनिषको संलग्नता यकिन भएको स्रोतको भनाइ छ । यद्यपि,प्रहरीले मेडिकल रिपोर्टलगायतका प्रमाण संकलनको काम गरेर गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ । ‘आफूसँगै सुतेकी भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेको पाइयो । त्यसपछि घटना खुल्ने डरले हत्या गरेर शव नजिकै रहेको विद्यालय छेउमा फालेर उनी फर्किएको देखिन्छ,’स्रोतले भन्यो ।
प्रहरी अनुसार शवको प्रकृति हेर्दा मुख थुनेर वा घाँटी बटारेर हत्या गरेजस्तो देखिन्छ । भतिजीको शव फालेर आएपछि अनिष घरमै बसेका थिए । आत्तिकाका बाबुआमा भने काम विशेषले बाहिर गएका थिए । सन्तानलाई हजुरआमाको जिम्मा लगाएर आमाबुवा बाहिर गएका बेला घटना भएको हो । आत्तिकाका बाबु अक्षय भारत मनिहारी गएका थिए । पत्नी माइतीघर गएकी थिइन् । अरु बेला पनि काम परेर बाहिर जानु पर्दा अक्षय र उनकी पत्नीले छोरीलाई आमाकहाँ छाडेर जाने गरेका थिए ।
बुवाआमाले जिम्मा लगाएपछि आत्तिका र उनका भाइ हजुरआमासँग बसे । राति काका अनिषसँग सुते । भतिजी र भतिजलाई लिएर अनिष अलग्गै घरमा सुतेका थिए । अर्को घरमा सुतेकी हजुरआमा बिहान उठेर नातिनातिना सुतेको घरमा आइन् । ओछ्यानमा हेर्दा नातिनी देखिनन् । हल्लाखल्ला भयो । त्यसपछि गाउँमा बच्च चोरी भएको हल्ला चल्यो । खोजी गर्ने क्रममा हत्या गरेर फालेको अवस्थामा आत्तिकाको शव भेटियो ।
घरभित्रै बलात्कार गर्दा भतिजले थाहा पाउने भएकाले अनिषले भतिजीलाई घरबाट बाहिर लगेर बलात्कार गरी त्यसपछि हत्या गरिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले नाबालिकाको हत्यासँग सम्बन्धित प्रमाण जुटाउने काम भइरहेको बताइन् । ‘घटनामा काकाकै संलग्नता हो कि भन्ने आशंका छ । त्यसलाई तथ्य र प्रमाणले पुष्टि गर्नुपर्ने हुन्छ । ‘मेडिकल रिपोर्ट’हरु हेर्दैछौं । अनुसन्धानबाट वास्तविकता खुल्दै जान्छ,’उनले भनिन् ।
नाबालिकाको शवको पोस्टमार्टम विराटनगरको कोशी अस्पतालमा भएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाका बारेमा प्रष्ट हुने डीएसपी चुँडालको भनाइ छ । उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका अनिषले घटना स्वीकार गरिसकेका छैनन् । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं घटनास्थल पुगेका थिए ।
भतिजीको हत्यामा काकाकै संलग्नता रहेको निष्कर्षमा पुगेको प्रहरीले अनिषविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ । उनीविरुद्ध मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको हो ।
बालिकाको हत्या भएपछि गाउँ नै शोकमा डुबेको स्थानीय अमृताकुमारी चौधरीले बताइन् । उनले भनिन्, ‘भयानक र दर्दनाक घटनाले गाउँमा त्रास फैलिएको छ । सबैजना स्तब्ध छन् । निष्पक्ष अनुसन्धान गरेर हत्यारामाथि कारबाही हुनुपर्छ।

