Aamsanchar

सत्य विश्वासमा अडिग रहनु, अर्थोडक्स परम्परा, आत्मिक अनुशासन र शुद्ध मार्गको आह्वान

Author Image
शुक्रवार, वैशाख ४, २०८३

परिचयः सम्पूर्ण विश्वासयोग्यजनहरूमा सर्वप्रथम त्रिएक परमेश्वरको असीम कृपा, अनुग्रह र शान्ति भरिपूर्ण रहोस् भनेर विनम्रताका साथ प्रार्थना गर्दछु। आजको संसारमा जहाँ सूचनाको बाढी, विचारहरूको विविधता र शिक्षाहरूको मिश्रण छ, त्यहाँ सत्य र असत्यबीचको अन्तरलाई छुट्याउने विवेक झन् आवश्यक बन्दै गएको छ। विश्वास भनेको भावनाको विषय होइन, यो सत्यमा आधारित जीवनको यात्रा हो।

हामीले सुनेका हरेक कुरा सत्य हुँदैनन्, र देखिएका हरेक मार्ग सही र साँचो हुँदैनन्। त्यसैले, विश्वासयोग्यजनहरूले आफ्नो आत्मिक जीवनलाई हल्ला, भ्रम र अपूर्ण शिक्षाबाट जोगाउँदै सत्यको खोजीमा निरन्तर लागिरहनु अनिवार्य हुन्छ। पवित्र शास्त्रले भन्छः “तिमीहरूलाई सिकाइएको शिक्षामा दृढ रहो” (२ थेस्सलोनिकी २ः१५)। यही सत्य वचन हाम्रो जीवनको आधार बन्नुपर्छ।

अर्थोडक्स विश्वास नै साँचो मार्गको ज्योति होः अर्थोडक्स भन्ने शब्दले एउटा धार्मिक पहिचान मात्र जनाउँदैन, यसले “सही विश्वास” र “सही अभ्यास” को गहिरो अर्थ बोकेको हुन्छ। यो विश्वास प्रेरितकालदेखि निरन्तर रूपमा जोगिँदै आएको जीवित र पवित्र परम्परा हो, जुन कुरा इतिहासको विषय मात्र होइन, तर वर्तमान जीवनमा पनि सक्रिय रूपमा कार्यरत सत्य हो।

अर्थोडक्स विश्वासले हामीलाई यहि कुरा सिकाउँछ कि पवित्र बाइबल पढ्नु मात्र पर्याप्त हुँदैन, पवित्र बाइबललाई प्रेरितीय परम्पराको प्रकाशमा सही रूपमा बुझेर जीवनमा लागू गर्नुपर्छ।

अनि मात्र यो विश्वासले हाम्रो विश्वासलाई सिद्धान्तमा सीमित राखी, हाम्रो जीवनशैलीमा रूपान्तरण गर्दछ। इतिहासको गहिराइ र सत्यको निरन्तरतामा लागि रहने, अर्थोडक्स चर्चको इतिहास येशू ख्रीष्टका प्रेरितहरूबाट सुरु भएको हो। प्रारम्भिक ख्रीष्टियन समुदायहरूले जुन विश्वास, प्रार्थना र जीवनशैली अपनाएका थिए, त्यसैलाई नै आजसम्म निरन्तरता दिइएको छ।

३२५ ईस्वीमा सम्पन्न नाइसियामा बसेको महासभाले विश्वासका आधारभूत सत्यहरूलाई स्पष्ट ग¥यो। त्यसपछि १०५४ ईस्वीको महान विभाजनले ख्रीष्टियन जगतलाई दुई भागमा विभाजन ग¥यो, तर अर्थोडक्स चर्चले आफ्नो मौलिकता, पवित्रता र परम्परालाई जोगाइराख्यो। यस ऐतिहासिक यात्राले हामीलाई एउटा गहिरो शिक्षा दिएको छ, सत्य समयसँग परिवर्तन हुँदैन, बरु समयले नै सत्यलाई प्रमाणित गर्छ। अर्थोडक्स चर्चका आत्मिक स्तम्भहरूलाई जान्नुपर्छः अर्थोडक्स जीवन भनेको बाहिरी अनुष्ठान धर्मकर्म गर्दै हिड्नुमात्र होइन, अर्थोडक्स जीवन भनेको भित्री परिवर्तनको यात्रा हो।

अर्थोडक्स विश्वासका मुख्य आधारहरू यस प्रकार छन्ः प्रेरितीय परम्परा र बाइबलको समन्वयः परमेश्वरको वचन र जीवित परम्पराको सन्तुलनलाई नघटाई नबढाई जीवन जिउँनु, लिटर्जिकल आराधनामा सहभागी हुदैः गहिरो अर्थयुक्त, संरचित र पवित्र उपासनामा सहभागी भएर साक्षी दिनु जसले आत्मालाई उचाल्छ। सात पवित्र संस्कारहरूः बप्तिस्मा, यूखारिस्ट, विवाह आदि, आत्मिक जीवनका आधारस्तम्भहरूलाई पालना गर्नु, प्रार्थना, उपवास र अनुशासनः आत्मिक शुद्धता र परमेश्वरसँगको घनिष्ठ सम्बन्धका साधनहरू हुन भनेर पूर्ण रुपमा बुझ्नु, प्रेरितीय उत्तराधिकारलाई विश्वासको शुद्धतामा जोगाउने निरन्तरतामा अघि बढ्नु भन्ने हो। यी सबै अभ्यासहरूले विश्वासलाई शब्दमा मात्र होइन, जीवनमा प्रकट गर्न मद्दत गर्छन्।

प्रोटेस्टेन्ट आन्दोलन र सुधारवादको आवाजः १६औं शताब्दीमा सुरु भएको प्रोटेस्टेन्ट आन्दोलन तत्कालीन चर्चका केही अभ्यासहरूको विरोधबाट उत्पन्न भएको थियो। प्रोटेस्टेन्ट चर्मले पवित्र बाइबलको सर्वोच्चता, विश्वासद्वारा उद्धार, र व्यक्तिगत आत्मिक स्वतन्त्रताको पक्षमा आवाज उठायो।

यो आन्दोलनलाई अगुवाई गर्ने प्रमुख व्यक्तित्वहरू भनेका मार्टिन लुथर, जोन क्याल्भिन आदि थिए, उनिहरुले ख्रीष्टियन विश्वासलाई नयाँ दृष्टिकोणबाट बुझाउने प्रयास गरे। फलस्वरूप, विभिन्न शाखाहरू विकास भए, लुथरन, बाप्टिस्ट, मेथोडिस्ट, पेन्टेकोस्टल आदि। यद्यपि, यी सबै प्रयासहरू बीच एउटा महत्वपूर्ण प्रश्न उब्जिन्छ, के सुधारको नाममा मूल सत्यबाट टाढा जानु उचित हो? यो विषयमा प्रत्येक विश्वासयोग्यजनले गहिरो रूपमा चिन्तन गर्नुपर्छ।

ख्रीष्टियक विश्वास भनेको भिन्नता होइन, सत्यको खोजी हो, अर्थोडक्स विश्वास र प्रोटेस्टेन्ट दृष्टिकोणबीच स्पष्ट भिन्नताहरू छन्। तर यी भिन्नताहरूलाई विवादको रूपमा होइन, सत्यको खोजीको अवसरको रूपमा लिनुपर्छ। विश्वासको लक्ष्य कुनै समूहको विजय होइन, तर आत्माको उद्धार हो भनेर हामीले बुझ्नुपर्छ। हामीले अरूको आलोचना गर्नु भन्दा पनि आफ्नो विश्वासलाई बलियो बनाउनु आवश्यक छ। किनकि पवित्र शास्त्रले भन्छः “पहिले आफ्नो आँखा भित्रको ठुलो काठको मुढालाई निकाल” (मत्ती ७ः५)।

यो लेखको उदेश्य विश्वासमा दृढ रहने आजको आह्वान हो, आज धेरै विश्वासयोग्यजनहरू भ्रम, हल्ला र गलत शिक्षाको कारण विचलित भइरहेका छन्। सामाजिक सञ्जाल, अपूर्ण जानकारी र भावनात्मक प्रचारले सत्यलाई छायामा पार्ने प्रयास गरिरहेका छन्।

यस्तो अवस्थामा, हामीले के गर्नुपर्छ? सत्यको खोजीमा गहिरो अध्ययन गर्नुपर्छ, प्रार्थनामा निरन्तर रहनुपर्छ, प्रेरितीय शिक्षामा जरा गाड्नुपर्छ, सुनेका हरेक कुरालाई आत्मिक विवेकले जाँच्नुपर्छ। पवित्र वचनले हामीलाई यसरी सम्झाउँछः विश्वासमा दृढ रहो, साहसी बन, बलियो बन” (१ कोरिन्थी १६ः१३)।

निष्कर्षः सत्यमा अडिग रहने प्रतिज्ञा गर्नु, अन्ततः अर्थोडक्स विश्वास कुनै बाहिरी देखावा मात्र होइन, यो सत्यसँगको जीवित सम्बन्ध हो। अर्थोडक्स विश्वासले मानिसलाई परमेश्वरको अनुग्रहमा जीवन जिउन, आत्मिक रूपमा परिपक्व हुन र अनन्त जीवनको आशामा अडिग रहन सिकाउँछ।

हामी सबैजना आफ्नो विश्वासलाई गहिरो बनाउँदै, सत्यलाई आत्मसात् गर्दै, हल्ला र भ्रमबाट टाढा रहँदै, परमेश्वरको मार्गमा अटल रहन सकौ, यही नै सच्चो विश्वासको चिन्ह हो।
विश्वासलाई साँचो शिक्षामा गहिरो गरी जरा गाड्नुहोस्, सत्यमा अडिग रहनुहोस्, र कहिल्यै नडगमगिनुहोस्।

फादर जगत बहादुर वाग्ले
यरुशलेम बिलिभर्स इस्टर्न चर्च भद्रपुर–झापा

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर