Aamsanchar

द्वन्द्व र विवादबाट जन्मेको वर्तमान कांग्रेस

Author Image
मङ्गलवार, वैशाख १५, २०८३

विशेष अधिवेशनबाट सभापति बन्नु भएका गगन थापाले आफ्नो कार्यसमितिको वैधानिकतामा कुनै द्विविधा नराखी निश्चिन्त रूपमा कार्यसञ्चालन गर्दै आएका छन्। थापाको नेतृत्वले नियमित महाधिवेशन गर्ने विषयदेखि लिएर क्रियाशील सदस्यसम्बन्धी निर्णयहरू समेत गरिसकेको छ।

फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा बैठक कोशी प्रदेशमा सम्पन्न भइसकेको छ भने अन्य प्रदेशहरूमा पनि गर्ने तयारी भइरहेको छ। क्रियाशील सदस्यता अद्यावधिक गर्न सबै जिल्लाहरूमा ‘जरा अभियान’ सञ्चालनका लागि प्रतिनिधिहरू समेत खटाइसकिएको छ।

निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरिसकेपछि कांग्रेसलाई चलायमान बनाइराख्न अदालतको निर्णय आउनुअघि नै कुनै विलम्ब नगरी सभापतिले कार्यसमितिलाई सक्रिय बनाउँदै आएका छन्।

जेन–जी आन्दोलनका क्रममा पार्टीको केन्द्रीय भवनमा भएको आगजनीले पु¥याएको भौतिक क्षतिको मर्मत–सम्भार गरी पुनः पूर्वअवस्थामा ल्याइएको छ।

तर पार्टीको दैनिक प्रशासनिक काममै मात्र वर्तमान कार्यसमिति केन्द्रित देखिन्छ। अहिले पार्टीले आफ्नो गुमेको वर्चस्व कायम गर्न यस्ता काम मात्र पर्याप्त हुँदैनन्। अन्य राजनीतिक दलहरूसँग समन्वय गरी प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गर्नु पनि त्यत्तिकै आवश्यक छ। तर अहिलेसम्म कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु खेदजनक विषय बनेको छ।

सभापति गगन थापाको नेतृत्वमा रहेको कार्यसमितिभित्र कांग्रेसकै वरिष्ठ तथा अनुभवी नेताहरूको ठूलो हिस्सा बाहिरै रहेको छ, जसलाई ‘संस्थापन इतर’ समूह भनेर चिनिन्छ।

पूर्णबहादुर खड्का, प्रकाशशरण महत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, शशांक कोइरालालगायत नेताहरूले वर्तमान पदाधिकारीप्रति असहमति जनाउँदै नियमित महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन्।

आन्तरिक कलह समाधानका लागि राजनीतिक रणनीतिक संघर्ष जारी छ। पार्टीभित्र एकताको आवश्यकता उनीहरूले जोडतोडका साथ उठाइरहेका छन्। माथि उल्लेखित व्यक्तिहरू केवल व्यक्तिमात्र नभई कांग्रेसभित्र गहिरो इतिहास र प्रभाव बोकेका नेता हुन्। सभापतिले यस यथार्थलाई नजरअन्दाज गर्नुहुँदैन।

कांग्रेसलाई पुस्तान्तरण र रूपान्तरणको नाममा संगठन परिमार्जन गर्नु जति आवश्यक छ, त्यति नै आवश्यक वरिष्ठ नेताहरूको अनुभव र क्षमतालाई आत्मसात गर्नु पनि हो।

तत्कालीन केन्द्रीय समितिको असहमति र विवादका बीच विशेष अधिवेशनबाट सभापति बनेका गगन थापालाई पार्टी सञ्चालन गर्न अहिले कठिन परिस्थिति रहेको छ। वर्तमान केन्द्रीय समिति पार्टीभित्रको द्वन्द्व र विवादको बीचबाट जन्मिएको हुँदा यसलाई सर्वस्वीकार्य बनाउने जिम्मेवारी सभापतिमाथि थपिएको छ।

गगन थापाले संस्थापन र संस्थापन इतर दुवै पक्षलाई समेट्ने क्षमता देखाउनुपर्ने समय आएको छ। यसका लागि उनीमा संयम, त्याग र राजनीतिक परिपक्वता आवश्यक देखिन्छ।

विराटनगरमा भएको कोशी प्रदेशको समीक्षा बैठकमा सहभागी हुन जाँदा गगन थापा कोइराला निवासमा नपुगेको विषयलाई धेरैले असन्तोषका रूपमा लिएका छन्। यो कांग्रेसको परम्परा र संस्कारअनुसार उपयुक्त व्यवहार मानिँदैन।

कोइराला निवास कांग्रेसको ऐतिहासिक धरोहर र प्रेरणाको स्रोत हो। त्यसको गरिमा र महत्वलाई कम आँक्नु हुँदैन।

संस्थापन इतर समूहले वैशाख १५–१६ गते जिल्ला सभापतिहरूको भेला तथा १४औँ महाधिवेशनका पदाधिकारीहरूको बैठक बोलाएको छ। आवश्यक परे कठोर निर्णय लिने संकेत पनि दिएको छ।

अर्कोतर्फ, डा. शेखर कोइरालाले बुद्धिजीवीहरूको भेला आह्वान गरेका छन्। दुवै पक्षले संसदीय दलको नेता अहिलेसम्म चयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै तुरुन्त चयन गर्न सभापति थापालाई सचेत गराएका छन्।

वर्तमान अवस्थामा कांग्रेस निराशाजनक अवस्थामा देखिन्छ। कुनै ठूलो संकट आउनुअघि नै पार्टीलाई एकताबद्ध बनाउने सूत्र अपनाएर अघि बढ्न सके त्यसले पार्टी र सभापति दुवैको हितमा काम गर्नेछ।

अन्यथा, पार्टीभित्र विग्रह बढेमा त्यसको सम्पूर्ण जिम्मेवारी सभापति गगन थापामाथि पर्नेछ र त्यो राजनीतिक भार उनले बोक्नुपर्नेछ।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर