Aamsanchar

गाडी चलाउन पनि सिकाउने अर्जुनधाराको ब्रिलियन्ट स्कुलमा कक्षा ११ सुरु

Author Image
सोमवार, असार २३, २०८२

अर्जुनधारा ।  झापाको अर्जुनधारा नगरपालिका–६ स्थित छाताचोकको शान्त परिवेशमा रहेको ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कुल (BPSS) ले आफ्नो शिक्षाको यात्रालाई नयाँ मोड दिएको छ। शैक्षिक सत्र २०८१ देखि विद्यालयले कक्षा ११ को अध्यापन सुरु गर्दै व्यवस्थापन संकायमा सीपमूलक शिक्षा प्रदान गर्ने घोषणा गरेको छ।

‘सीपमूलक शिक्षा, रोजगारीको आधार’—यो नारालाई आत्मसात गर्दै विद्यालयले होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान, ट्राभल एन्ड टुरिजमजस्ता व्यावसायिक विषयहरू समेट्दै अगाडि बढेको छ।

आइतबार विद्यालय प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक प्रिन्सिपल ताराप्रसाद नेपालले भने, “हामी शिक्षालाई अब केवल किताबी ज्ञानमा सीमित राख्न चाहन्नौँ। हाम्रो उद्देश्य विद्यार्थीकै भविष्य निर्माणमा उपयोगी र व्यावहारिक शिक्षा दिनु हो।”

विद्यालयले विगत १०–११ वर्षदेखि एसईई परीक्षामा सधैँ उत्कृष्ट नतिजा दिँदै आएको छ। पछिल्लो सत्रमा ४० जना विद्यार्थी एसईईमा सहभागी हुँदा ८५ प्रतिशत सफल भएका थिए।

सीपयुक्त पूर्वाधार

ब्रिलियन्ट स्कुलमा ३२ क्षमताको आधुनिक कम्प्युटर ल्याब, स्तरीय होटल म्यानेजमेन्ट प्रयोगशाला, अनुभवी शिक्षक–शिक्षिकाको टोली तथा सफा र अनुशासित वातावरण विद्यालयको बलियो पक्ष हो। विद्यार्थीहरूलाई भर्ना प्रक्रियामा पुस्तक तथा पोशाकमा छुट दिइँदैछ भने एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका लागि २० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरिएको छ।

कृयाशीलता र सिर्जनशीलताको संयोजन

शैक्षिक पक्षसँगै विद्यालयले अतिरिक्त गतिविधिलाई समेत उत्तिकै महत्व दिएको छ। नृत्य, गायन, वाद्यवादन, चित्रकला, कराँते, उसु, हस्तलेखन, नाटक र नैतिक शिक्षालाई केन्द्रमा राखेर विशेष कक्षाहरू सञ्चालनमा छन्। अझ विशेष कुरा—विद्यालयले विद्यार्थीलाई टु-व्हीलर गाडी चलाउन पनि सिकाइरहेको छ।

भविष्यतर्फको भरोसा

विद्यालयका भाइस प्रिन्सिपल रमेशकुमार नेपालका अनुसार विद्यार्थी तथा अभिभावकबाट कक्षा ११ का लागि उत्साहजनक प्रतिक्रिया आइरहेको छ। लेखा प्रमुख किशोर पौडेलसहित सम्पूर्ण टिमले नयाँ शैक्षिक तहमा विद्यालयको प्रगतिको लागि संकल्पबद्ध रहेको जानकारी दिइयो।

नयाँ अध्याय सुरु

ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कुलले सुरुवात गरेको कक्षा ११ को शिक्षाले विद्यार्थीलाई केवल प्रमाणपत्र होइन, व्यवहारिक जीवनमा उपयोगी ज्ञान र सीपको साथ अगाडि बढाउने अपेक्षा गरिएको छ। यो प्रयासले अर्जुनधारा क्षेत्रको शिक्षामा नयाँ दिशा दिने विश्वास अभिभावकहरूले व्यक्त गरेका छन्।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर