
फुङलिङ- मुक्कुम्लुङ संरक्षण र पाथीभरा क्षेत्र(मुक्कुमलुङ)मा केबलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विभिन्न चरणका सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ ।
समितिले बुधबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। समितिले सरकारसँग निरन्तर वार्ता, संवाद र छलफल भइरहेको अवस्थामा समेत स्थानीय प्रशासनलाई दिइएको निर्माण रोक्ने निर्देशनलाई बेवास्ता गर्दै कामलाई निरन्तरता दिइएको जनाएको छ । झुटा, फर्जी तथा नक्कली दस्तावेजको आधारमा पवित्र ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा मुक्कुम्लुङ अतिक्रमण गरिएको दाबी गर्दै सङ्घर्ष समितिले सङ्घर्षको कार्यक्रम घोषणा गरेको हो।

घोषित कार्यक्रम अनुसार वैशाख ३० गते ताप्लेजुङ, फुङ्लिङ र काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्ने, जेठ ५ गते विभिन्न राजनीतिक दलसँग छलफल तथा अन्तरक्रिया गर्ने, जेठ ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको आयोजकले जनाएको छ ।

यस्तै, जेठ ९ गते विभिन्न सङ्घ संस्थासँग अन्तरक्रिया, जेठ ११ गते कालो झन्डासहित कोणसभा, जेठ १६ गते फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र जेठ १७ गते मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपणसहित विरोध प्रदर्शन गरिने सङ्घर्ष समितिले जनाएको छ।
समितिले वन फँडानी, जग्गा किनबेचमा ठगी, भ्रष्टाचार तथा अनियमित्ता भएको आरोप लगाउँदै सम्पूर्ण निर्माण कार्य तत्काल बन्द गरी सत्यतथ्य छानबिन गर्न माग गरेको छ । साथै समुदायलाई आन्दोलनका कार्यक्रममा सहभागी हुन आह्वान समेत गरिएको छ। गैरकानुनी रूपमा मुक्कुम्लुङ क्षेत्रमा अतिक्रमण गर्दै केबलकार निर्माण कार्य भइरहेको भन्दै विगत लामो समयदेखि समितिले विरोध जनाउँदै आइरहेको छ ।


