नारी सञ्चार गृहको नयाँ कार्यसमिति गठन, स्वस्तिका आचार्य अध्यक्षमा
बिर्तामोड, असार २३
नारी सञ्चार गृह झापाको नयाँ कार्यसमितिले आइतबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेको छ। संस्थाको अध्यक्षमा स्वस्तिका आचार्य चयन भई पदभार ग्रहण गरेकी हुन्।
बिर्तामोडमा आयोजित पद हस्तान्तरण समारोहमा निर्वाचन संयोजक तथा संस्थापक अध्यक्ष साबित्रा दहालले नवनिर्वाचित कार्यसमितिको घोषणा गरिन्। निवर्तमान अध्यक्ष रेजिना गौतमले नवअध्यक्ष आचार्यलाई माइन्युट हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पिएको थिइन्।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महताराले नवनिर्वाचित समितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिन्।

स्वस्तिका आचार्य यसअघि वीरता लेडी जेसीजको अध्यक्ष तथा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी सामाजिक नेतृत्व क्षमता सम्पन्न व्यक्तित्व हुन्। उनले रेडियो सनराइजबाट पत्रकारिता आरम्भ गरेकी थिइन् भने नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्यका रूपमा समेत निर्वाचित भइसकेकी छन्। पद ग्रहणपछि आचार्यले संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएकी छन्।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली चयन भएका छन्। सदस्यहरूमा विनिशा शर्मा गौतम, ईशा प्रधान, सञ्जु शिवाकोटी, चन्दा भट्टराई, रमा दाहाल, सिर्जना परियार, किरण हुमागाईं र रञ्जीता खड्का रहेका छन्।


