

गुलरिया – जिल्ला प्रशासन कार्यालय बर्दियाले हातहतियार, खरखजाना नवीकरण नगर्न स्थानीय तहहरूलाई सूचना जारी गरेको छ । विगतमा पालिकाहरूले गर्दै आएको हतियार नवीकरण कार्य अब उप्रान्त प्रशासन कार्यालयले गर्ने सूचनामार्फत जानकारी गराइएको छ ।

हातहतियार, खरखजाना नियमावली–२०२८ नियम ११ को उपनियम १ ९ख० अनुसार साविकका स्थानीय निकायहरू, गाउँविकास समिति तथा नगरपालिकाहरूबाट भरुवा बन्दुकको नवीकरण हुने व्यवस्था भए पनि देशमा लागू भएको संघीय प्रणालीअनुसार जारी स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीय सरकारलाई सो व्यवस्था नभएकाले पालिकाहरूलाई हतियार नवीकरण नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले जानकारी दिए ।

हातहतियार, खरखजाना नियमावली–२०२८ ९संशोधित० को नियम ११ को उपनियम १ ९ख० मा भरुवा बन्दुकसहित अन्य हातहतियार, खरखजाना प्रमुख जिल्ला अधिकारीले नवीकरण गर्ने स्पष्ट उल्लेख भएकाले पालिकाहरूलाई त्यसो नगर्न सूचित गर्दै हातहतियार, खरखजाना नवीकरण गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई मात्र भएको जानकारी गराइएको छ ।
स्थानीय तहहरूबाट भरुवा बन्दुक नवीकरण गरिएको पाइएकाले अब उपरान्त पालिकाहरूले हातहतियार खरखजाना नवीकरण नगरी जिल्ला प्रशासन कार्यालय बर्दियामा पठाइदिन सूचनामार्फत जानकारी गराइएको हो । बन्दुकधारीहरूले त्यस्ता भरुवा बन्दुकसहित अन्य हातहतियार, खरखजाना जिल्ला प्रशासन कार्यालय बर्दियाबाट मात्र नवीकरण गर्न सम्बन्धित सबैमा सूचित गरिएको कठायतले बताए । उनले भने, ‘प्रत्येक वर्ष ऐन तथा नियमावलीअनुसार प्रत्येक आर्थिक वर्षमा प्रशासन कार्यालयबाट हातहतियार ९बन्दुक० नवीकरण हुने गरेको छ ।’
प्रशासनमा बन्दुक साथमा लैजादा सर्वसाधारणहरूमा नकारात्मक असर पर्ने भएकाले अब उप्रान्त बन्दुक नवीकरण गराउन नजिकैको प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयबाट हतियार चेकजाँच गराई तत् निकायबाट दिएको चेकजाँच फारम र लाइसेन्स लिई जिल्ला प्रशासन कार्यालयमा सोको आधारमै हतियार नवीकरण हुने वयवस्था कायम भएको सहायक प्रजिअ कठायतको भनाइ छ ।
‘तोकियका निकायहरूलाई सहजीकरण गर्न हामीले सूचना गरेका छौं’, उनले थपे, ‘प्रहरीमा चेकजाँच गराइसकेपछि जिल्ला प्रशासन कार्यालयमा हतियार लैजान पर्दैन । मानिसभन्दा ठूला हतियार छन् । कार्यालयभित्र हतियार लैजादा सेवाग्राही पनि झस्किने, कर्मचारी पनि झस्किने अवस्था हुने भएकाले पाइक पर्ने प्रहरीका कार्यालयहरूमा चेकजाँच गरी फारम ल्याएपश्चात् नवीकरण हुने व्यवस्था मिलाएका छौं ।’
बर्दियामा करिब ७ सयदेखि ८ सयको संख्यामा हातहतियार छन् । जसमध्ये ५० देखि ७५ वटा हातहतियार मात्र नवीकरण भएको उनले प्रस्ट्याए ।


