साहित्य भनेको मानव सभ्यताको आधार स्तम्भ हो। धर्म, संस्कृति, संस्कार, भाषा, लिपि, सभ्यता र जीवन मूल्यलाई जीवन्त राख्ने प्रमुख साधन हो साहित्य। जसरी जराबाट काटिएको वृक्ष बाँच्दैन, त्यसरी नै साहित्यविहीन समाज र राष्ट्र पनि दीर्घकालीन रूपमा बाँच्न सक्दैन। साहित्य मरेको देश ढिलोचाँडो पतनतर्फ अग्रसर हुन्छ।

साहित्य भुइँमान्छेको आवाज हो, समाजको ऐना हो, विकृति–विसङ्गतिविरुद्धको सशक्त औजार हो। अनुशासन, मर्यादा, चेतना र राष्ट्रिय आत्माको संरक्षक हो।
साहित्यको व्युत्पत्ति

संस्कृत भाषामा “साहित्य” शब्द ‘सहित’ बाट बनेको हो, जसको अर्थ हुन्छ – शब्द र अर्थको सहभाव।

प्रमुख दुई व्युत्पत्तिहरूः


-
“शब्दार्थौः सहित तस्य भावः साहित्यम्” — शब्द र अर्थको सहअस्तित्व नै साहित्य हो।
-
“हितेन सहितं तस्य भावः साहित्यम्” — हितकारी विचारले युक्त अभिव्यक्ति साहित्य हो।
अंग्रेजीमा ‘Literature’ शब्द ल्याटिन ‘Littera’ बाट आएको हो, जसले लेखिएको, विचार गरिएको र कल्पना गरिएको कलात्मक अभिव्यक्तिलाई जनाउँछ।
साहित्यका प्रकार
साहित्य मूलतः चार प्रमुख विधामा वर्गीकृत हुन्छ:
-
कविता (काव्य)
-
गद्य (आख्यान)
-
नाटक
-
निबन्ध
पूर्वीय दृष्टिकोणमा साहित्य
संस्कृत आचार्यहरूका परिभाषाहरू:
-
भामह: “शब्दार्थौ सहितौ काव्यम्” — शब्द र अर्थको समन्वय साहित्य हो।
-
दण्डी: “अभीष्टभावपूर्ण पदावलि” — चाहेको अर्थ व्यक्त गर्ने शब्द समूह नै काव्य हो।
-
वामन: गुण र अलङ्कारले युक्त शब्द–अर्थ साहित्य हो।
-
कुन्तक: अपारम्परिक शैलीमा भाव सम्प्रेषण गर्ने पद्य साहित्य हो।
-
मम्मट: गुणयुक्त निर्दोष शब्द–अर्थ साहित्य हो।
-
विश्वनाथ: रसयुक्त वाक्य नै साहित्य हो।
पाश्चात्य दृष्टिकोण
-
अरस्तु (Aristotle): “भाषाबाट अभिव्यक्त हुने अनुकरणात्मक कला”।
-
हड्सन: “भाषाद्वारा व्यक्त जीवन”।
-
क्लरिज: “सौन्दर्य र सत्यको प्रत्यक्षीकरण”।
-
वर्डस्वर्थ: “प्रबल भावनाको सहज विस्फोट”।
नेपाली साहित्यकारहरूको परिभाषा
-
देवकोटा: “सजीव अनुभवहरूको कलात्मक प्रकाशन”।
-
रुद्रराज पाण्डे: “आत्मभावको अभिव्यक्ति”।
-
सोमनाथ सिग्द्याल: “सर्वसाधारणलाई मुग्ध पार्ने अभिव्यक्ति”।
साहित्यका प्रयोजन
पूर्वीय धारणा
-
भरतमुनि: धर्म, अर्थ, काम, मोक्ष, शिक्षादी।
-
भामह, दण्डी, मम्मट: आनन्द, कीर्ति, ज्ञान, मुक्ति आदि।
-
विश्वनाथ: काव्यानन्द र चतुर्वर्ग सुख।
पाश्चात्य धारणा
-
अरस्तु: “क्याथार्सिस (भावनाको शुद्धि)”।
-
शेली: “सहानुभूति र प्रेमको विस्तार”।
-
फ्रायड: “दमित कुण्ठाको अभिव्यक्ति”।
-
आर्नोल्ड: “नैतिकता र जीवनको अर्थ”।
-
रिचर्डस: “लोकमङ्गल”।
समसामयिक सन्दर्भ र हाम्रो जिम्मेवारी
साहित्य एक सार्वभौम चेतनाको उपज हो। यसमा जात, वर्ग, भूगोल, लिंग, धर्म, सम्प्रदाय आदिको कुनै विभेद हुँदैन। समाजलाई विभाजन होइन, समावेशी एकताको सूत्रमा बाँध्ने शक्ति साहित्यसँग छ।
नेपाली साहित्यको गौरवशाली इतिहास छ — वेद, उपनिषददेखि रामायण, गीता, भागवतसम्मका रचनाहरूले मानव जीवनलाई मार्गदर्शन गरेका छन्। आधुनिक नेपालको पुनर्जागरणका हस्तीहरू जस्तै:
महाकवि देवकोटा, राष्ट्रकवि माधव घिमिरे, युगकवि सिद्धिचरण श्रेष्ठ, बीपी कोइराला, भानुभक्त आचार्य, बालकृष्ण सम, भवानी भिक्षु, भीमनिधि तिवारी लगायत सयौं अग्रज स्रष्टाहरूले नेपाली चेतनाको पुनर्जागरणमा अमूल्य योगदान दिएका छन्।
आजको युगमा, हामीले उनीहरूका सपनालाई जीवन्त राख्ने गरी साहित्यलाई राष्ट्रनिर्माणको माध्यम बनाउनु पर्छ। हाम्रो इतिहास, लिपि, भाषा र सभ्यतालाई पुनर्जागृत गर्नु हाम्रो कर्तव्य हो।
साहित्य केवल शब्दको सँगालो होइन — यो एउटा जीवन्त चेतना हो, जसले समाजमा विचार, मूल्य र परिवर्तन ल्याउँछ।
यदि साहित्य सत्यको पक्षमा छ भने त्यसमा हतियारभन्दा बढी शक्ति हुन्छ। यसै कारण आज पनि साहित्य नै समाज रूपान्तरणको प्रमुख साधन हो। त्यसैले आगामी पुस्तालाई एक विवेकी, विवेकशील र समावेशी राष्ट्र हस्तान्तरण गर्न “साहित्यको पुनर्जागरण” अपरिहार्य छ।
लेखक ओली चेतना नेपालका अध्यक्ष हुन् ।

