

विराटनगर – मोरङको कटहरीमा बन्दागोभी लोड गरिएको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । प्रहरीले शनिबार मध्यराति ३ क्वीन्टलभन्दा बढी गाँजा बरामद गरेको हो । कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट ३ हजार १ सय ५० किलोग्राम गाँजा बरामद भएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार प्रहरी चौकी कटहरीबाट वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक)भीम खड्का नेतृत्वको टोलीले राति १२ बजेतिर गाँजा बरामद गरेको हो । सवारीसाधनको चेकजाँचमा खटिएको टोलीले बन्दागोभी लोड गरेर शंकास्पद रूपमा आउँदै गरेको को १ ख ४५१८ नम्बरको ट्रक रोकेको थियो ।

ट्रक रोकेर खानतलासी गर्ने क्रममा बन्दागोभीको बोराले छोपेर राखिएको अवस्थामा १ सय ५ बोरा गाँजा फेला परेको चुँडालको भनाइ छ । ‘शंकास्पद अवस्थामा आउँदै गरेको ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्ने क्रममा १ सय ५ वटा बोरामा प्याक गरेर ल्याएको अवस्थामा गाँजा बरामद भयो,’ उनले भनिन्, ‘तौल लिँदा ३ हजार १ सय ५० किलो रहेको पाइयो ।’

प्रहरीले रोक्नसाथ ट्रक छाडेर चालक भागेका थिए । माथिबाट बन्दोगोभीको बोराले छोपेर मुनि गाँजा प्याक गरिएको बोरा राखिएको उनको भनाइ छ । ट्रकसहित गाँजा नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी तीव्र पारिएको डीएसपी चुँडालको भनाइ छ । उक्त गाँजा कसले र कहाँबाट ल्याएको हो भन्ने यकिन छैन ।

पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारत कटाउनका लागि ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान सुरु गरिएको जानकारी चुँडालले दिइन् ।
मोरङबाट एकैपटक ठूलो परिमाणमा गाँजा बरामद भएको यो नै पहिलो घटना भएको प्रहरीले जनाएको छ । पछिल्लो समय मोरङबाट गाँजा बरामद हुने क्रम तीव्र बनेको छ । असार २५ गते धनपालथान गाउँपालिका–१ गदिया खोलानजिकै उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद भएको थियो ।
गाँजाको अवैध ओसारपसार र कारोबार नियन्त्रणमा लिनका लागि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले विशेष टोली परिचालन गरेका छन् । गाँजाको धन्दा नियन्त्रण गर्न सबैतिर निगरानी बढाएर विशेष अप्रेशन चलाइएको चिमरियाको भनाइ छ ।
उनका अनुसार नेपाल–भारत सीमानजिकका क्षेत्र र तस्करीका सम्भावित रुटमा निगरानी बढाइएको छ ।

