
फोटो श्रोत:नेपालखबर

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापामा सुरु गरेको नागरिक हस्ताक्षर संकलन अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार दमकमा आयोजना गरिएको कार्यक्रममा प्रहरीले प्रयोग भइरहेको माइक तोडफोड गरेको हो ।

रास्वपा जिल्ला नेता प्रकाश पाठका अनुसार शान्तिपूर्ण रूपमा चलिरहेको कार्यक्रममा कुनै पूर्वसूचना नदिई प्रहरीले हस्तक्षेप गर्दै माइक खोसेर भाँचिदिएको आरोप छ । उनीहरूले यो कदमलाई “प्रशासनिक दमन“ को संज्ञा दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमणकै बेला उक्त अभियान रोक्न उच्च राजनीतिक दबाब प्रशासनमा पुगेको थियो । “प्रधानमन्त्री झापामा रहुन्जेल कुनै पनि गतिविधि नगर भन्ने दबाब जिल्ला प्रशासनमा आएको थियो,“ रास्वपाका एक नेताले बताए ।

रास्वपाले मुलुकमा सुसासन, भ्रष्टाचार विरुद्धको अभियान र जनउत्तरदायी शासन प्रणालीको पक्षमा नागरिक हस्ताक्षर संकलन गर्दै आएको छ । तर झापामा भएको यो घटनाले सरकारको असहिष्णु चरित्र प्रकट भएको पार्टीको आरोप छ ।
अभियानमा सहभागी युवाहरूले घटनाप्रति आपत्ति जनाउँदै लोकतन्त्रमा शान्तिपूर्ण अभिव्यक्तिको अधिकारसमेत खोसिएको बताएका छन् । घटनापछि रास्वपाले तत्काल पत्रकार सम्मेलन गर्दै विरोध कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

