Aamsanchar

अफताव आलमलाई दोषमुक्त गर्ने न्यायाधीश मोसो प्रकरणमा संलग्नहरु सम्मानित

Author Image
आइतवार, असार २९, २०८२

काठमाडौँ । पूर्वमन्त्री अफताव आलमलाई उच्च अदालत वीरगञ्जले दोषमुक्त गरेपछि न्यायाधीशद्वयमाथि कालो मोसो प्रहार गरेका नेकपा (बहुमत) निकटका नेताहरूलाई पार्टीले सार्वजनिक रूपमा सम्मान गरेको छ। शनिबार राजधानीस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको बागमती प्रदेश (३ नं. ब्यूरो) ले उक्त नेताहरूलाई स्वागत तथा अभिनन्दन गरेको हो।

कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले संबोधन गर्दै गरिब, निमुखा तथा पीडित जनताको पक्षमा आवाज उठाउने हिम्मत देखाएको भन्दै उनीहरूलाई बधाई तथा धन्यवाद दिएका थिए। उनले राज्यका तीनवटै अङ्गमा भ्रष्टाचार मौलाउँदै गएको र नेकपा (बहुमत) ले त्यस विरुद्ध नयाँ अभियान सुरु गरेको जानकारी दिए।

कार्यक्रममा कालो मोसो प्रकरणमा संलग्न पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिनको प्रहरी हिरासत र ४ दिनको कारागार बसाइँले आफूलाई थप दृढ बनाएको बताएका थिए। उनले भने, “बन्द पर्खाल पछाडिको बसाइँ उत्साहजनक रह्यो। अपराधीहरूलाई मोसो मात्र नभई आवश्यक परे थप कारबाहीको लागि पनि तयार छौँ।“

सो घटनामा संलग्न अर्का सदस्य पदम मगरले देशमा अन्याय र दण्डहीनता चरम सीमा पुगेको दाबी गर्दै यस्ता घटनाविरुद्ध निडर ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

गत जेठ २९ गते वीरगञ्ज उच्च अदालतको इजलासभित्र न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले कालो मोसो छ्यापेका थिए। सो घटनापछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाएको थियो।

नेकपा (बहुमत) ले भने उक्त कार्यलाई “न्यायको पक्षमा गरिएको जनदबाव“ भन्दै सकारात्मक रूपमा लिएको जनाएको छ।

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर