

झापा- बुद्धशान्ति गाउँपालिका–४ मा १९५ जना भूमिहीनले जग्गाको धनीपुर्जा प्राप्त गरेका छन्। सोमबार वडा नम्बर ४ कार्यालय नजिक आयोजित विशेष समारोहमा उनीहरूलाई आधिकारिक रूपमा धनीपुर्जा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली काँग्रेसका महामन्त्री तथा झापा–१ बाट प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले धनीपुर्जा वितरण गरेका थिए। शर्माले विगतमा महँगो शुल्कको कारण आम जनताले धनीपुर्जा पाउन नसकेको अवस्थालाई स्मरण गर्दै आफूले त्यसविरुद्ध आवाज उठाएको र त्यसकै फलस्वरूप हाल सरकारको निर्णयले राजस्व दर आधा घटाएको दाबी गरे।
गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले माग अनुसारको धनीपुर्जा दिलाउन गाउँपालिका कार्यालयले अझ धेरै काम गर्न बाँकी रहेको बताए।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले धनीपुर्जा दिएर मात्र दायित्व पूरा नहुने भन्दै त्यस्को प्रयोगको कार्यान्वयन अझ सरल बनाइदिन आग्रह गरे।

भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीका अनुसार जिल्लामा छिट्टै थप ५५० जनालाई पनि धनीपुर्जा वितरण गरिनेछ। उनका अनुसार दुई दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाबाट जग्गाको धनीपुर्जा वितरण कार्यक्रम शुभारम्भ गरेका थिए, जहाँ १५७ जनाले धनीपुर्जा प्राप्त गरेका थिए।

अधिकारीका अनुसार आगामी असार ३२ गते अर्जुनधारा नगरपालिकामा १३२ जनालाई धनीपुर्जा वितरण गरिने तयारी छ। उनका अनुसार यसअघि गठन भएको आयोगमार्फत झापामा हालसम्म २ हजार ५०० भन्दा बढी धनीपुर्जा वितरण भइसकेको छ।
“कतिपय व्यक्तिले राजस्व तिर्न नसक्दा तयार भइसकेका धनीपुर्जा समेत वितरणमा ढिलाइ भएको छ,” अध्यक्ष अधिकारीले बताए। उनका अनुसार विसं २०७७ यता झापामा करिब ५५ हजार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण भइसकेको छ।
धनीपुर्जा वितरण कार्यक्रममा स्थानीयवासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, जनप्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति थियो।

