

काठमाण्डौ – स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धित व्यक्तिलाई लगिएको भनिएको घटना छानबिन गर्न समिति गठन भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।

बोगटीको नेतृत्वमा सीआईबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्य रहनेगरी छ सदस्यीय समिति बनाइएको छ । हिजो गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आईजीपी दीपक थापालाई स्पेन प्रकरणबारे छानबिन गर्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा जानुभएको थियो । उहाँसहितको प्रतिनिधिमण्डल असार २० मा स्वदेश फर्किएको थियो । तर स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको भनेर समाचार आइरहेका छन् । यसबारेमा संसदमा पनि प्रश्न उठेको छ ।


