Aamsanchar

आगलागीको २३ वर्षपछि ३५ जनालाई लालपुर्जा

Author Image
मङ्गलवार, असार ३१, २०८२

संखुवासभा – आगलागी भएको २३ वर्षपछि संखुवासभा चैनपुरका स्थानीयले जग्गाको लालपुर्जा पाएका छन् । चैनपुर नगरपालिका-९ का ३५ जनालाई विशेष नापी कार्यालयले आज लालपुर्जा वितरण गरेको हो ।

 

सशस्त्र द्वन्द्वकालका बेला २०५९ वैशाख १४ गते संखुवासभाको चैनपुरमा रहेको नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायतका महत्त्वपूर्ण भूमिलगत नष्ट भएको थियो ।

२०७६ माघ १३ को मन्त्रिपरिषद्को निर्णयले पुनः नापजाँच गरी सोको पुनःस्थापना गर्नका लागि विशेष नापी कार्यालय चैनपुर स्थापना गरिएको हो । हाल यस कार्यालयअन्तर्गत दुईवटा नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नापनक्सा तथा जग्गा दर्ताको कार्य भइरहेको छ ।

चार नगरपालिकाको ६४ हजार हेक्टर क्षेत्रमा दुई टोलीबाट नापी भइरहेको विशेष नापी प्रमुख हरिशरण नेपालले बताए । मादी, चैनपुर, धर्मदेवी र पाँचखपन नगरपालिकामा विशेष नापी कार्यालयले काम गरिरहेको छ । उनका अनुसार चैनपुर नगरको ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सकिएको छ ।

आगलागी भएर कागजात नष्ट भएको २३ वर्षपछि जग्गाधनी धनीपुर्जा पाएपछि स्थानीय चहकबहादुर भण्डारीले विशेष नापीलाई धन्यवाद दिए । उनले चारवटै नगरपालिकामा वितरणको काम चाँडै सकिनुपर्ने बताए । ३५ परिवारलाई जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यलगायतले लालपुर्जा वितरण गरेका थिए ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर