

वीरगन्ज – बाल सुधारगृहका कैदीबन्दीहरुलाई धम्क्याएर १० लाखभन्दा बढी रकम असुल्ने सुधारगृहकै चौकीदारलाई प्रहरीले पक्राउ गरेको छ।


कैदीबन्दीहरुलाई धम्क्याएको आरोपमा लागू औषध सम्बन्धी कसुर मुद्दाका कैदी सिरहाको लहान नगरपालिका-३ घर भएका २४ वर्षीय प्रमानन्द गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार,बाल सुधार गृहमा कैद भुक्तान गरेर बुधबार उनी छुट्ने दिन सुधार गृहका पीडित बाल कैदीबन्दीहरूले सुधार गृह प्रशासन र त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीलाई आफूहरूसँग सुधार गृहका चौकीदारसमेत रहेका गुप्ताले विभिन्न समयमा १० लाख बढी रकम असुलेको बारेमा जानकारी गराएका थिए। त्यसलगत्तै प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
मिश्रका अनुसार,सुधार गृहमा चौकीदारको हैसियतमा रहेका बखत गुप्ताले सुधारगृहमा रहेका १० जना बाल कैदीबन्दीहरुलाई दबाब तथा प्रभावमा पारेर नगद तथा इसेवा मार्फत १० लाख १५ हजार रुपैयाँ असुलेको आरोप छ। यसबारेमा जानकारी प्राप्त हुनासाथ गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको मिश्रले बताए । गुप्तालाई प्रहरीको हिरासतमा राखेर उनीविरुद्ध ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

