Aamsanchar

झिमरुक नदिमा झोलुंगे पुल निर्माण

Author Image
आइतवार, साउन ४, २०८२

प्युठान : गौमुखी गाउँपालिका–१ अर्खा लामिडाँडा र वडा नं। ३ रजवारा देउराली जोड्ने गरी झिमरुक नदिमा झोलुंगे पुल निर्माण गरिएको छ । ३ सय ७४ मिटर लामो यो पुल १८० मिटर अग्लो स्थानमा रहेको छ ।

पुल निर्माणले यहाँका स्थानीयलाई आवत–जावतमा सहज त भएको छ नै हिजोआज फोटो खिच्नेहरूको भीड लाग्ने गर्छ । पुल निर्माणले यहाँका स्थानीयको मनको दूरीलाई समेत कम गरेको ९० वर्षीय तुलबहादुर थापाले बताए । ‘दुई गाउँबीच अ‍ैंचो–पैंचोदेखि छोरी–बुहारी लैजाने–ल्याउनेसम्मको मनको साईनोले घनिष्ठ सम्वन्ध गाँसिएको छ’, उनले भने, ‘हेर्दा आँखै अगाडिको गाउँ पनि टाढा लाग्थ्यो ।’ एकै छिन भेटौं भने पनि जान–आउन गर्न दिनभर लाग्ने दुई गाउँलाई झोलुंगे पुलले नजिक बनाएको उनले बताए ।

भौगोलिक कठिनाइका कारण लामो भएको दूरीलाई झोलुंगे पुल निर्माणले छोटो बनाएको भन्दै स्थानीय हर्षित छन् । अग्लो स्थानमा पुल निर्मण भएपछि यहाँ पुग्ने, फोटो खिच्ने र टिकटक बनाउनेहरूको दैनिक भीड लाग्ने गरेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए ।

मंसिर महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि जेठ महिना भित्रै निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । सस्पेन्शन वृज डिभिजन कार्यालय पुल्चोक ललितपुरसँगको सम्झौता अनुसार अपर तामाकोशी जेभी कम्पनीले कुल २ करोड ७२ लाख ७४ हजार रूपैयाँ लागतमा पुल निर्माण गरेको हो ।

दुई डाँडा जोड्ने गरी छिमेकी जिल्ला बाग्लुङ, पर्वतमा यस्ता पुल निर्माण भएको सुन्ने र देख्ने गरेका यहाँका स्थानीयहरू आफ्नै आँखा अगाडि पुल निर्माणले दंग परेका छन् । प्रतिनिधि सभा सदस्य सूर्य थापाले २०८१ मंसिर १३ गते पुलको शिलान्यास गरेका थिए ।

पर्यटनसँग जोड्न सकिने
साविकका अर्खा र रजवारा गाविसका स्थानीयलाई आवत जवात गर्न सुविधा पुग्ने यस झोलुंगे पुललाई यहाँको पर्यटनसँग जोड्न सकिन्छ । अग्लो स्थान र लामो दूरीका झोलुंगे पुलहरू मध्यको यो पुल देशकै उत्कृष्ट १० भित्र पर्ने सम्भावित पुल हो । गौमुखी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यस झोलुंगे पुललाई पनि एक गन्तव्यका रूपमा विकास गरिने गाउँपालिकाले जनाएको छ । विशेषगरी फोटो र भिडियो सुट गर्नका लागि यो उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर