

वसन्तपुर । कोशी प्रदेश सरकारले भव्यताका साथ शुभारम्भ गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ को तीन महिना बितिसक्दा पनि तेह्रथुमको वसन्तपुरका होटल व्यवसायीहरूले खाना खुवाएको, सुताएको भुक्तानी रकम पाएका छैनन । उद्घाटन कार्यक्रममा अतिथि, सुरक्षा टोली, कर्मचारी, पत्रकार र मन्त्रीहरूको बासभोजनको व्यवस्था गरेका व्यवसायीहरू सरकारको उदासीनताले पीडित भएका छन् ।

‘सरकारको कार्यक्रममा सहयोग ग¥यौं, अहिले आफैं फस्यौं’
उद्घाटनको समयमा याक होटलका सञ्चालक पेम्बा छिरिङ भुटियाले मन्त्रीदेखि पत्रकारसम्मका पाहुनालाई सेवा दिएका थिए । तर, अहिलेसम्म एक रुपैयाँ पनि नपाएको उनले गुनासो गरे। “सरकारले दिन्छु मात्र भन्यो, खाता भने खाली नै छ,“ उनले भने, “कार्यक्रम सरकारी हो भनेर नाफा नहेरी सहयोग ग¥यौँ, अहिले पैसा नआएपछि व्यापार चलाउनै सकस भएको छ।”

खाली बिल उठाएर गायब!
बासन्तपुर भ्यु होटलका सञ्चालक तथा तेह्रथुम होटल व्यवसायी संघका अध्यक्ष प्रकाश श्रेष्ठले भने, “कार्यक्रम सकिनेबित्तिकै मन्त्रालयका प्रतिनिधि खाली–खाली बिल उठाएर लगे। हामीले भरपर्दो समन्वयको आशा गरेका थियौं, तर अन्त्यमा धोका मात्र बाँकी रह्यो।”
अध्यक्ष श्रेष्ठ को भनाइमा, होटल बुकिङदेखि बिल व्यवस्थापनसम्म सचिवालयका केही प्रभावशाली कर्मचारी तथा निजी व्यक्तिहरूको मात्र चलखेल देखिएको थियो। कतिपय अवस्थामा स्पष्ट कागजात र हाजिरी अभावका कारण बिलहरू अस्वीकृत गरिने भयसमेत छ ।


३२ हजार बाँकी, आधा मात्र भुक्तानी
नुनथला रिसोर्टका सञ्चालक लोकेन्द्र कार्की भन्छन्, “३२ हजार रुपैयाँ अझै बाँकी छ । आधा रकम आए पनि बाँकी माग्दा कुनै सुनुवाइ छैन।” यस्तै अनुभव धेरै होटल व्यवसायीहरूको रहेको छ । कतिपयले सिंगो रकम पाएका छैनन् भने केहीले आंशिक मात्र पाएका छन्।
प्राप्त जानकारी विवरण अनुसार, होटल व्यवसायीहरूले अझै ८ हजारदेखि १ लाख १८ हजार रुपैयाँसम्म भुक्तानी पाउन बाँकी रहेको उल्लेख छ । वसन्तपुरका करिब १५ होटलमध्ये आधाले अझै एक रुपैयाँ पनि पाएका छैनन्।
सचिवको सफाइ : ’साना होटलको मात्रै बाँकी, छिट्टै हुन्छ’
पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले भुक्तानीको ढिलाइ स्वीकार गरेका छन्। “ठूला होटलको भुक्तानी भइसकेको छ, साना होटलहरूको बाँकी छ । हाजिरी र खाने संख्यामा मेल नमिल्दा समस्या आएको हो,” उनले भने।
घिमिरेका अनुसार, कुपन प्रणाली लागु नगरिनु, सहभागिताको स्पष्ट सूची नहुनु र कर्मचारी व्यवस्थापनमा कमजोरीका कारण बिल मिलान कठिन भएको हो।
‘अब बिना सम्झौता सेवा हुँदैन’
होटल व्यवसायीहरूले अब सरकारको कार्यक्रममा बिना मञ्जुरी वा अग्रिम रकमबिना सेवा नदिने चेतावनी दिएका छन्। “हामीले सहयोग गरेका थियौं, तर आज फसेका छौं। अब यस्तो समर्थन गर्न सकिँदैन,” बसन्तपुरका एक होटल व्यवसायीको भनाइ छ ।
सरकारी ‘उत्सव’को भार व्यवसायीको काँधमा
‘कोशी पर्यटन वर्ष’ पर्यटन प्रवद्र्धनको नाममा गरिएका ठूला कार्यक्रमहरूको पारदर्शिता र व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ । उद्घाटनको उत्सव सरकारी चमकधमकमा सीमित हुँदा, स्थानीय व्यवसायीहरू घाटामा परेका छन्।
पर्यटन विकासको नाममा गरिने यस्ता कार्यक्रमहरू प्रभावकारी र जवाफदेही नहुने हो भने, यसले स्थानीयस्तरको सहभागिता र विश्वासमा गम्भीर असर पार्ने व्यवसायीहरूको ठम्याइ छ ।

