

काठमाडौं – नेपाल प्रहरीले महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरीले हत्यामा संलग्न युवतीको नाम र ठेगाना भने खुलाएको छैन। यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुमान छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले यादवको शनिवार राति जनकपुरको होटल एसपी एण्ड गेष्ट हाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै महिला साथी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको बताए। शनिवार राति ९ बजेर ५० मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसिटिभी फुटेजमा देखिन्छ।

त्यसको करिब ५ घण्टापछि आइतवार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ। त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद रहेको बताए।
आइतवार बिहान पौने ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीकाअनुसार सिसिटिभी फुटेजका आधारमा आरोपीमाथि नै अनुसन्धान केन्द्रित छ।


