इलाम । फिक्कलका कलाकार मुकेश गुरुङ चौथो संस्करणको सिल्भर म्युजिक अवार्ड मा ‘उत्कृष्ट आर्टिस्ट’को उपाधिसहित सम्मानित भएका छन्।

गुरुङले अभिनय गरेको ‘घरबार हाम्रो पूर्वैतिर हो’ बोलको गीत अवार्डमा नोमिनेसनमा परेको थियो। सोही गीतबाट उत्कृष्ट मोडलको उपाधि हात पार्दै उनले अवार्ड जितेका हुन्। उक्त गीतमा गायिका मेलिना राई र गायक कुमार प्रयास राईको स्वर रहेको छ। शान्तिराम राईको शब्दमा संगीतकार अनिल कोयु राईले संगीत भरेका छन्।

अभिनयमा सक्रिय गुरुङले हालसम्म १६ वटा गीत–सङ्गीतमा अभिनय गरिसकेका छन्। यसअघि पनि उनले हिमालयन इन्टरनेशनल अवार्ड को पाँचौँ संस्करणमा अवार्ड हात पारेका थिए।

गुरुङको यस पटकको सफलतालाई उनको सांगीतिक तथा मोडलिङ यात्रामा एक महत्वपूर्ण उपलब्धि मानिएको छ। स्थानीय तथा राष्ट्रिय कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएका गुरुङको समर्पण र मेहनतलाई यस अवार्डले थप उचाइमा पु¥याउने विश्वास गरिएको छ।


कलाकार गुरुङले अवार्डपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै दर्शक, शुभेच्छुक र टिमलाई धन्यवाद दिएका छन्। “यो अवार्ड मेरो मात्र नभई सम्पूर्ण टिमको मेहनतको परिणाम हो,” उनले लेखेका छन्।

