

काठमाण्डौ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाण्डौको माइतीघरमा सत्याग्रह शुरू गर्नुभएको छ । उहाँले बाँसलगायत स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सत्याग्रह शुरू गर्नुभएको हो ।

नगरपालिकाले बाँसको प्रवर्द्धन गरिरहेको भए पनि स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने आफ्नो मुख्य माग रहेको मेयर भट्टराईले बताउनुभयो । गएको जेठ २३ गते र असार ६ गते बाँसलगायत स्थानीय उत्पादको प्रवर्द्धन गर्नुपर्नेलगायतका सात बुँदे माग प्रधानमन्त्रीसमक्ष पठाएको तर कार्यान्वयन गर्न सरकार उदासीन बनेकोले सत्याग्रहमा जानुपरेको उहाँको भनाइ छ ।

आज बिहान बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा भट्टराईलाई प्रहरीले रोकेर माइतीघरमा पुर्याइदिएको थियो । तीन दिन सत्याग्रहमा बस्ने र त्यस बेलासम्म माग पूरा नभए आमरण अनशन बस्ने उहाँको चेतावनी छ ।

मेयर भट्टराई बाँसको प्रयोगमा सहजता ल्याउन माग गर्दै बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत सामान बोकेर काठमाण्डौ आउनुभएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मेयरको कार्यकक्षका टेबल, कुर्सीसहित सबैजसो फर्निचरहरू बाँसबाट बनाएर प्रयोग गरिएका छन् ।

