

चितवन – चितवनका घरआँगनमा झार मार्ने विषादी छर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको पाइएको छ । यसले बालबालिका, वृद्धवृद्धा, पशुपंक्षीदेखि माटो र पानीको स्रोतसम्म असर पुर्याएको विज्ञहरू बताउँछन् ।

पहिला व्यावसायिक खेतीमा सीमित यो प्रयोग अहिले घरआँगनको “फेसन” जस्तै बन्न थालेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनका कीट विज्ञ प्रा.डा. सुन्दर तिवारी भन्छन्, “हरियो त आँखाका लागि राम्रो भनेर सुनिन्छ, तर घरअगाडिको हरियो झार देखेर पनि आजकाल विष हालिन्छ, त्यो चिन्ताजनक हो ।”

खतरनाक विषादी घरमै

विषादी व्यवसायी संघ चितवनका अनुसार चितवनमा प्रयोग हुने झार मार्ने विषादीमध्ये ८० प्रतिशत पाराक्वेट र २० प्रतिशत ग्लाइफोसेट रहेको छ । सरकारले पाराक्वेटको बिक्रीमा रोक लगाए पनि बाँकी रहेको स्टक अझै डेढ वर्षसम्म बेच्न पाइने व्यवस्था रहेको छ ।
“झार मार्ने विषादी त बेच्नैपर्छ,” अध्यक्ष ईश्वरी अर्याल भन्छन्, “तर उपभोक्ताले हामीले भनेकोभन्दा दोब्बर प्रयोग गर्नुहुन्छ । यो हानिकारक हो भनेर बुझाएर मात्र पुग्दैन ।”
पाराक्वेट विषादीको असर ७ दिनसम्म रहने बताइए पनि आँगनमा प्रयोग गर्दा त्यो अवधि नपर्खिई चल्ने गरिएको पाइन्छ । विष पर्नासाथ केही घण्टामै झार सुक्ने भए पनि मानव स्वास्थ्यमा असरको अवधि धेरै लामो हुन्छ ।
स्वास्थ्यमा दीर्घ असर
फिजिसियन डा. भोजराज अधिकारीका अनुसार हर्बिसाइडको जथाभावी प्रयोगले छाला, श्वासप्रश्वास, आँखा र नसा प्रणालीमा असर गर्छ ।
“झमझम हुने, वाकवाकी लाग्ने, बान्ता आउने, बालबालिकामा पखाला र चक्करजस्ता लक्षण भएका बिरामीको कारण खोज्दा धेरैजसोमा विषादीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भेटिन्छ,” उनी भन्छन् ।
वातावरण, हावा र पानी विषादीको असर फैलन सहयोगी कारक बनेका छन् । विष परेको ठाउँ वरपरको बालीसमेत मर्ने घटना रिपोर्ट भएको कृषि अधिकृत गौरव न्यौपाने बताउँछन् ।
झार हटाउने सजिलो विकल्प, असर पुऱ्याउने विकल्प
कृषि अधिकृत न्यौपानेको भनाइमा, “मोबाइल र टिकटकले मानिसलाई यस्तो बनायो कि, घर अगाडिको झार उखेल्ने फुर्सद छैन, बरु विष छर्छ ।”
उनका अनुसार पालिकाले जनचेतना फैलाउन सक्ने भए पनि नियमन गर्ने अधिकार संघीय तहको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रसँग मात्र छ ।
विज्ञ तिवारी थप्छन्, “पहिला मेहनती पुस्ता थियो, अहिलेका छोराछोरी जिम जान्छन् तर आँगनको झार उखेल्दैनन् । त्यसैले उनीहरूले विष छर्छन् र आफू र आफ्ना परिवारलाई बिरामी बनाउने काममा अनावश्यक जोखिम मोल्छन् ।”
दीर्घकालीन असर, तत्काल सोच्नुपर्ने बेला
डा. भाेजराज अधिकारीले चेतावनी दिन्छन्: “विषादीको सजिलो पहुँचले हाम्रा कलिला बालबालिकालाई दीर्घकालीन रोगी बनाउने खतरा हामीले आज हेरेनौं भने भोलि ठूलो मूल्य चुकाउनु पर्छ ।”
घरआँगनको झार हटाउन सजिलो उपाय जस्तो देखिने विषादी छर्ने कामले अब स्वास्थ्य, वातावरण र सामाजिक चेतनामा गम्भीर प्रश्न उठाएको छ । जथाभावी प्रयोग नियन्त्रण गर्ने र सचेत गराउने अभियान आजै सुरु गर्न विज्ञ र सरोकारवालाहरूको जोड छ ।

