

बिर्तामोड । संगीतको दुनियाँमा एक सशक्त पहिचान बनाउँदै आएका बिर्तामोडका बाल प्रतिभा स्मयन बजगाईं चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ४’ को फाइनल राउण्डमा प्रवेश गर्न सफल भएका छन् ।
सप्तक संगीतालय बिर्तामोडमा संगीत सिक्दै गरेका स्मयनले हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको उक्त कार्यक्रममार्फत आफ्नो प्रतिभा उजागर गरेका हुन्। निर्णायकहरूका साथसाथै दर्शकसमेत मन्त्रमुग्ध हुने गरी प्रस्तुत गरेका दमदार गायनले उनलाई फिनालेसम्मको यात्रा तय गराएको हो ।

निर्णायक सत्यराज आचार्यको टिममा प्रतिस्पर्धा गरिरहेका स्मयनले फाइनल राउण्डमा तुलसी घिमिरेको शब्द, रञ्जीत गजमेरको संगीत र उदित नारायण झाको स्वर रहेको कालजयी गीत ‘आँखा भरिका सपना’ प्रस्तुत गरेका थिए। स्मयनको सशक्त प्रस्तुति पछि निर्णायक सत्यराजले प्रतिक्रिया दिँदै भने, “स्मयनको गायन सुन्दा मलाई नै गाइरहेको जस्तो महसुस भयो। सुरमा यति सिधा हुनु चानचुने कुरा होइन। स्मयन साँच्चिकै गज्जबको सिंगर हो।”
गायन क्षमतामा रेञ्ज, सुर र मुडका हिसाबले स्मयन उत्कृष्ट रहेको बताउँदै कोच सत्यले थपे, “उनको आवाज ओजश्वी छ। सुरलाई कर्म, धर्म र मर्म ठानेर गाउँछन् उनी। स्मयनको मुस्कानमा धेरै उज्यालो छ, त्यसैले हामी सबैले उनलाई जिताउन भोट गर्नुपर्छ।”

स्मयनको प्रस्तुतिबाट प्रभावित अर्की निर्णायक मेलिना राईले पनि उनीप्रति प्रशंसा व्यक्त गरिन्। उनले भनिन्, “उस्तै नोटमा बसेर हाई नोट छुने र फेरि लोमा फर्कन सक्ने क्षमता निकै दुर्लभ हुन्छ । स्मयनको प्रस्तुतिले मेरो शरीर सिरिङ्ग बनायो।”
बाल कलाकार स्मयनले आफूलाई फिनालेसम्म ल्याइपु¥याउने सबैलाई धन्यवाद दिँदै भनेका छन्, “सबैकोे माया र साथले म यहाँसम्म आइपुगेको हुँ। अब फिनाले जित्न तपाईंहरूको भोट आवश्यक छ।” उनले आफूलाई सबैले विनम्रतापूर्वक ‘खल्ती एप’ मार्फत भोट गर्न अपिल गरेका छन्।


प्रभावशाली गायन, अनुशासित व्यवहार र दर्शकको माया बटुलेका स्मयन अब फाइनलको तयारीमा छन्। आयोजकले पनि सबै दर्शकहरूलाई आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न आग्रह गरेका छन्।
आज बजगाईको परिवारले बिर्तामोड स्थित बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार भेटघाट गर्दै भोटको अपील गरेका छन् ।
स्मयनलाई जिताउन बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने पनि सबै व्यवसायी समक्ष भोट गरिदिन अपील गरेका छन् । त्यसैगरी प्रणामी समूदायका उज्जल नक्षत्र मानिएका स्मयनको लागि बिर्तामोड प्रणामी सेवा समितिले पनि अपील गरेको छ ।
बिर्तामोड उद्योग बाणिज्य संघ अध्यक्ष राजु न्यौपाने ।
संगीत गुरु ।

