

बिर्तामोड । रिस वा क्रोध मानिसको स्वाभाविक भावना भए पनि यसले अनियन्त्रित हुँदा गम्भीर मानसिक, शारीरिक र सामाजिक क्षति पुर्याउने चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय सामाजिक सञ्जालदेखि व्यक्तिगत सम्बन्धमा समेत देखिएको आक्रोशपूर्ण व्यवहारले दीर्घकालीन असर पार्ने उनीहरूको भनाइ छ।

मानसिक स्वास्थ्य विशेषज्ञ डा. सन्देश अधिकारीका अनुसार बारम्बार रिसाउने बानीले तनाव, चिन्ता र डिप्रेशन जस्ता मानसिक समस्या निम्त्याउन सक्छ। ‘‘रिसले शरीरमा तनाव हर्मोन बढाउँछ, जसले निद्रा, निर्णय क्षमता र आत्मसन्तुलनमा असर पु¥याउँछ,’’ उनले बताए।

शारीरिक स्वास्थ्यमा समेत रिसको प्रत्यक्ष प्रभाव पर्न सक्ने डा. अधिकारी बताउँछन्। ‘‘रक्तचाप वृद्धि, मुटुमा असर, नसा सम्बन्धी समस्या र अनिद्रा जस्ता अवस्था रिसका कारण निम्तिन सक्छन्,’’ उनले स्पष्ट पारे।


सामाजिक सम्बन्धमा समेत यसको असर देखिने गरेको छ। सम्बन्ध विशेषज्ञ मञ्जु सुवेदी भन्छिन्, ‘‘रिसको कारण पारिवारिक कलह, वैवाहिक असमझदारी र पेशागत तनावको अवस्था बढ्दो छ।’’
वैकल्पिक उपायका रूपमा चिकित्सकहरू ध्यान, योग, गहिरो श्वास अभ्यास, लेखन, संगीत वा परामर्श सेवाको सिफारिस गर्छन्। ‘‘क्रोध दबाउने होइन, बुझ्ने र सही तरिकाले व्यक्त गर्ने सीप सिक्नु जरुरी छ,’’ सुवेदीले भनिन्।
मानव व्यवहार अनुसन्धानमा देखिएको तथ्य अनुसार अत्यधिक रिस नियन्त्रण नगरेको अवस्थामा आत्मघाती सोचसम्म विकास हुने खतरा हुन्छ।
विशेषज्ञहरू भन्छन्, ‘‘रिस नियन्त्रण मानिसको आत्मविकास, सम्बन्ध सुधार र शारीरिक सन्तुलनको लागि अनिवार्य अभ्यास हो।’’

