
सन्दकपुर जाने बाटो हो यो । यो बाटो भारतको भूमीमा पर्दछ । फोटो: बिनोद पाण्डे/आमसंचार
बिर्तामोड। इलाम जिल्ला र भारतको दार्जिलिङ सीमामा अवस्थित रमणीय गाउँ तुम्लिङ पछिल्ला वर्षहरूमा पर्यटकको मुख्य आकर्षण बन्दै गएको छ । समुद्री सतहदेखि करिब ३,००० मिटर उचाइमा रहेको यो गाउँबाट माउन्ट कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमाल श्रृङ्खलाको अद्वितीय दृश्यावलोकन गर्न सकिन्छ ।
नेपाल–भारतको खुला सीमामा पर्ने तुम्लिङको केही भाग नेपालतर्फ र केही भाग भारततर्फ पर्छ । स्थानीय बासिन्दा दुवै मुलुकमा सहज रूपमा आवतजावत गर्न सक्छन् । सन्दकपुर, जौबारी, नयाँबजार, फालुट जस्ता चर्चित गन्तव्यतर्फ जाने प्रमुख पदमार्गमा पर्छ तसम्लिङ, जसका कारण यहाँ दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको छ ।

तुम्लििङबाट नेपालको जौबारी तर्फ आउदै भारतीय पर्यटकहरु ।

विशेष गरी वसन्त ऋतुमा फुल्ने लालीगुराँस र हरित वनस्पतिले तुम्लिङको सुन्दरता झनै बढाउने गर्दछ । यहाँ लिम्बु, शेर्पा, गुरुङ लगायतका समुदाय बसोबास गर्छन्, जसको आतिथ्य सत्कार पर्यटकका लागि स्मरणीय अनुभव बन्ने गरेको छ । तुम्लिङ निकै चिसो ठाउँ हो । यहाँ बस्न र खानको लागि होटल तथा होमस्टेहरु दर्जनभन्दा धेरै रहेका छन् ।
फिक्कल देखि पशुपती नगर सडक बाट नयाँ बजार सम्मको कालोपत्र र त्यसपछि कच्ची सडक हुदै रमणीय तुम्लिङ पुग्न सकिन्छ ।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यातायात, आवास र सञ्चार पूर्वाधारमा थप सुधार भए तुम्लिङलाई पूर्वी नेपालको अग्रणी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिनेछ ।


