Aamsanchar

विश्व रेकर्ड कायम गर्ने उद्देश्यसहित ‘सेभेन समिट’मा निस्किए आरोही प्रकाशराज पाण्डे

Author Image
मङ्गलवार, साउन २७, २०८२

काठमाडौं – युवा आरोही प्रकाशराज पाण्डे विश्व रेकर्ड कायम गर्ने उद्देश्यसहित ‘सेभेन समिट’मा निस्किएका छन्। विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानका साथ पाण्डे ओसिनिया क्षेत्रको इण्डोनेसियामा पर्ने सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया)आरोहणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसियाबाट जकार्ता र त्यहाँबाट बुधबार बिहान इण्डोनेसिया पुग्ने कार्यतालिका छ। इण्डोनेसिया पुगेपछि कास्ट्रेन्स्ज पिरामिडको आरोहण सुरु गर्ने उनले जानकारी दिए।

कास्ट्रेन्स्ज पिरामिड ४ हजार ८ सय ८४ मिटर उचाइको चुनढुङ्गाले बनेको पिरामिड आकारको हिमाल हो। जुन पपुवा प्रान्त, इण्डोनेसियामा अवस्थित छ। विश्वका सात महादेशका उच्च शिखरमध्ये एक मानिने यो हिमाल आरोहीका लागि अत्यन्त चुनौती पूर्ण मानिन्छ।

यस अगाडि उनले अर्जेन्टिनास्थित माउण्ट अकोन्कागुआको शिखरमा फेब्रुअरी ६ तारिखमा दिन बिहान सफल आरोहण‍ गरेका थिए। ‘यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेँ। सात वटा महादेशका अग्ला हिमाल चढ्नेक्रममा छु। सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेको हुँ, त्यो पूरा गरेँ। त्यसपश्चात अहिले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो र दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखर अकोन्कागुआको पनि सफल आरोहण गरेँ।’ पाण्डेले भने,‘कास्ट्रेन्स्ज पिरामिड आरोहणपछि क्रमशः उत्तर अमेरिका र अन्टार्टिकाको उच्च हिमाल आरोहण गरी अन्ततः नेपालमै फर्केर सगरमाथामा पुनः राष्ट्रिय झण्डा फहराउने योजनामा छु।’

रामेछापको लिखु तामाकोशी गाउँपालिका निवासी आरोही पाण्डे विश्वमा देखिरहेको जलवायु परिवर्तनको मुद्दा बोकेर पाण्डे इन्डोनेशियाको हिमाल आरोहणमा निस्कन लागेका हुन्। पाण्डेलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिँदै यसले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा गौरवान्वित बनाउने विश्वास व्यक्त गरे। जलवायु परिवर्तनका कारण पर्वतीय मुलुक नेपाल प्रत्यक्ष असरमा परेको हुँदा यसबारे सचेतना जगाउनु आफ्नो कर्तव्य भएको पाण्डेको भनाइ छ। पाण्डेले सन् २०१६ देखि आरोहण सुरु गरेका हुन्।

 

Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर