Aamsanchar

आफ्नै ठाउँमा सम्भावना खोज्दै : ईलामका बिनोद श्रेष्ठको स्कुस खेतीबाट वार्षिक २० लाख आम्दानी

Author Image
मङ्गलवार, साउन २७, २०८२

इलाम।  “साथीको संगतले कुनैबेला विदेशिने रहरमा लागेका” सुर्योदय नगरपालिका–८ का बिनोद श्रेष्ठ आज आफ्नै गाउँमै कृषि उद्यमीका रूपमा परिचित छन्। उनले परम्परागत खेतीलाई आधुनिक सोचसँग जोडेर चलानी जातको स्कुस खेतीमार्फत ठूलो सफलता हात पारेका छन्।

४० रोपनी जमिन वार्षिक २ लाख रुपैयाँ भाडामा लिएर स्कुस खेती सुरु गरेका श्रेष्ठको वार्षिक खर्च करिब १२ लाख रुपैयाँ पर्छ — जसमा बाँस खरिदमा ५ लाख र मजदुरीमा ७ लाख खर्च हुन्छ। यति लगानी गरेर उनी हरेक वर्ष करिब १ लाख २० हजार किलो स्कुस बिक्री गर्छन् र सबै खर्च कटाएर कम्तिमा पनि २० लाख रुपैयाँ नाफा कमाउँछन्।

श्रेष्ठ आफ्नै स्कुस मात्रै नभई अन्य किसानका उत्पादन पनि भारतको सीमा नजिकै पशुपतिनगरसम्म पुर्याउँछन्। उनका अनुसार, पशुपतिनगरबाट मात्र दैनिक ३८ लाख रुपैयाँ बराबरको स्कुस भारत निर्यात हुन्छ। तर, निर्यातमा चुनौतीहरू रहेको बताउँदै उनले सरकारले न्यूनतम सहयोग गरे यसलाई थप सहज बनाउन सकिने धारणा राखेका छन्।

उनको भनाइमा, स्कुसको बीउ भदौ महिनासम्म रोपिसक्नुपर्छ। पातालो गरेर रोपिने यस जातको स्कुसमा मुन्टा टिप्न पाइँदैन, तर भुइँमा आउने मुन्टा टिप्नुपर्छ। बाक्लो पातले फलमा असर गर्ने भएकाले समय समयमा पात छाँट्न आवश्यक हुन्छ। यी पात गाई, भैंसी, बाख्रा र बंगुरको दानाका रूपमा पनि उपयोगी हुने भएकाले फालिएको मानिँदैन।

भविष्यमा उत्पादन विस्तार गर्ने योजनामा रहेका श्रेष्ठले १०० रोपनीमा स्कुस खेती गरी वार्षिक ७० लाखदेखि १ करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन्। “विदेशमा पसिना बगाउनेभन्दा आफ्नै माटोमा पसिना बगाउन पाउनु नै ठूलो गर्व हो,” श्रेष्ठले भने।

हाल सुर्योदय नगरपालिकाका तीन वडामा करिब १ हजार ५ सय किसान स्कुस खेतीमा संलग्न छन्। यहाँ मात्र दैनिक २ लाख किलो स्कुस उत्पादन भई भारत निर्यातमार्फत वार्षिक करिब ७० करोड रुपैयाँ भित्रिने गरेको छ।

तस्वीर तथा जानकारी : जीवनप्रसाद राई, कृषि अभियन्ता/धनकुटा

साभार : कृषि प्रेस

Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर