Aamsanchar

रेसुङ्गाकाे गेष्टहाउस टोलमा ज्येष्ठ नागरिक पार्क निर्माण

Author Image
सोमवार, भदौ २, २०८२

गुल्मी – रेसुङ्गा नगरपालिकामा ज्येष्ठ नागरिक पार्क निर्माण गरिएको छ । वडानम्बर–१ को गेष्टहाउस टोलमा पार्क निर्माण गरिएको हो ।

ज्येष्ठ नागरिकहरूलाई विश्राम, भेटघाट तथा मनोरञ्जनका अवसर प्रदान गर्ने उद्देश्य पार्क निर्माण गरिएको वडाअध्यक्ष रामप्रसाद पन्थीले बताए । उनका अनुसार पार्क पाँच लाखको लागतमा निर्माण भएको हो ।

पार्कले स्थानीय ज्येष्ठ नागरिकलाई विश्राम, सामाजिक मेलमिलाप तथा स्वास्थ्य लाभका अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

उमेरले अगाडि बढेका नगरबासीहरूलाई सम्मानपूर्वक बाँच्न सकिने वातावरण सिर्जना गर्नु रहेको वडाअध्यक्ष पन्थीले बताए ।

उनका अनुसार नगरपालिकाले ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ अन्तर्गत यो पार्क निर्माण गरेको हो । पार्कमा हरियालीयुक्त वातावरण, विश्रामका लागि बेञ्चहरू, छायाँ दिने संरचना र सौन्दर्यीकरणका लागि दुबो रोपिएको छ । ्

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै मनोरञ्जनका सामग्री र समयसमयमा स्वास्थ्य चेकअप शिविरको आयोजना गर्ने नगरपालिकाको योजना छ ।

नगरपालिकाले यस्तो सुन्दर पार्क बनाइदिएको भन्दै रेसुङ्गा–१ का स्थानीय टीकाराम न्यौपानेले खुसी व्यक्त गरे । उमेर ढल्केका मानिसहरूले बिहान बेलुकी आराम गर्न, साथीभाइसँग भेटघाट गर्न र ताजा हावा खान सक्ने राम्रो ठाउँ निर्माण भएको उनले बताए ।

रेसुङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकका लागि मात्रै नभई सबै उमेर समूहका मानिसहरूलाई लक्षित गर्दै ‘स्मार्ट, समावेशी र हरित नगर’ निर्माणको दिशामा काम गरिरहेको जनाएको छ । यो पार्क पनि त्यही योजना अन्तर्गतको एक महत्वपूर्ण पाइला हो ।

पार्क व्यवस्थापनका लागि स्थानीय टोल विकास संस्था, ज्येष्ठ नागरिक संघ तथा नगरपालिकाबीच सहकार्य गरिने भएको छ ।

 

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर