Aamsanchar

झापाली समाज युएईको अधिवेशन सम्पन्न, अध्यक्षमा कोईराला

Author Image
बुधवार, भदौ ४, २०८२

दुबई । झापाली समाज युएईको पाँचौँ अधिवेशन शनिबार (१७ अगस्ट) दुबईमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख आतिथ्य नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले गर्दै झापाली समाजले प्रवासमा गरेका सामाजिक गतिविधिहरुको प्रशंसा गरे । उनले झापाली समाज युएईको गतिविधि अन्य समाजका लागि पनि अनुकरणीय भएको उल्लेख गर्दै समाजले तयार पारेको “हाम्रो दायित्व” नामक वृतचित्र हेर्न सबैलाई आग्रह गरे ।

विशेष अतिथि तथा नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापकोटा र पूर्व अध्यक्ष बेदप्रसाद अर्यालले झापाली समाजका गतिविधि प्रेरणादायी र स्मार्ट तरिकाले सम्पन्न हुने गरेको बताए । प्रवासी नेपाली समन्वय विभाग युएईका अध्यक्ष सुजन थापाले झापाली समाजको पहिचान प्रवासमै विशेष भएको भन्दै निरन्तर सक्रियतामा विश्वास व्यक्त गरे ।

अधिवेशनले नेपाल पत्रकार महासंघ युएई अध्यक्ष मेघराज सापकोटा संयोजक रहेको निर्वाचन समितिमार्फत लोकेश कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा उपाध्यक्ष रत्न सापकोटा र विष्णु दंगाल, महासचिव रामकुमार राउत, सचिव भरत बुढाथोकी र भुपेन्द्र आचार्य, कोषाध्यक्ष प्रेम अधिकारी, सह–कोषाध्यक्ष काशीनाथ ढकाल तथा सदस्यमा समीर आलम रहेका छन् ।

कार्यक्रममा उद्धार कोषका लागि ५०० दिराम सहयोग रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै, अधिवेशनले महासचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । प्रतिवेदनअनुसार समाजको नाममा करिब ३० लाख रुपैयाँ नेपालका विभिन्न बैंकमा जम्मा गरिएको छ, जसको आम्दानीबाट झापाका १५ पालिकाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान हुँदै आएको छ ।

अधिवेशनमा विभिन्न सामाजिक, प्रादेशिक र जिल्लागत संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना दिँदै निवर्तमान अध्यक्ष अमरराज राईको कार्यकाल सफल भएको भन्दै आभार व्यक्त गरे । कार्यक्रममा युएईभरि रहेका झापालीहरूको बाक्लो उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।

Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर