

धरान – सुनसरी प्रहरीले गाँजा तस्करी नियन्त्रणमा कडाइ गरेपछि तस्करहरूले गाँजा तस्करीको स्वरूप परिवर्तन गर्न थालेका छन्। यसअघि निजी सवारी साधनमा तस्करी हुँदै आएकोमा पछिल्लो समय सार्वजनिक यातायातका साधनमार्फत हुन् थालेको छ।

बिहीबार सुनसरी कोशी गाउँपालिका(७ हरिपुरस्थित पूर्व पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा धरानबाट पोखरातर्फ जाँदै गरेको ग। १ ख। २१८७ नम्बरको बसलाई रोकी कानुन बमोजिम चेकजाँच गर्दा उक्त बसको डिक्कीमा ७ वटा डल (गुडिया)भित्र प्याक गरिएको अवस्थामा लागूऔषध गाँजा फेला पारी बरामद गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। उनले गाँजा तस्करीमा प्रहरीले कडाइ गर्न थालेपछि तस्करहरूले स्वरूप परिवर्तन सार्वजनिक यातायातका साधनहरूमा गाँजा ओसारपसार गर्न थालेको बताए।
गुडियामा १० केजी नौ सय ४० ग्राम गाँजा सहित तस्करीमा संलग्न धनकुटाको सहिदभूमि गाउँपालिका-७ बस्ने ५० वर्षीय रुद्र बहादुर राईलाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए। लागूऔषध गाँजासहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको एसपी तिम्सिनाले बताए।



