

तिज वैदिक सनातन हिन्दू धर्ममा आधारित महिला दिदी–बहिनीहरूको मौलिक पर्व हो। यसले माइती र चेलीको सम्बन्धलाई समधुरता र सहृदयताको भावमा मजबुत बनाउने काम गर्छ। नेपालका साथै विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरू पनि यस पर्वलाई मनाउँछन्। तिज विशेष गरी दिदी–बहिनीहरूको आत्मनिर्भरता, सांस्कृतिक पहिचान र वर्षभरि भएका दुःख–सुखको आदान–प्रदान गर्ने माध्यमको रूपमा रहँदै आएको छ।

पर्वको अवधिः
हरितालिका तिज भाद्र शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म मनाइन्छ। यस अवधिमा मुख्य दिनहरू:

१ दर खाने दिन


२ हरितालिका तिज
३ गणेश चतुर्थी
४ ऋषि पञ्चमी
दर खाने दिन:
पर्वको पहिलो दिन विवाहिता दिदी–बहिनी र घरमै रहेका अविवाहित दिदी–बहिनीहरूलाई एकत्र गराई मिठा परिकारहरू खुवाउने चलन छ। यस दिन मध्यान्हदेखि साँझसम्म विभिन्न परिकारहरू तयारी गरी खुवाइन्छ। दर खाने दिनको खाना हरितालिका तिजको व्रत सहज बनाउँछ।
हरितालिका तिज:
दोस्रो दिन हरितालिका तिज मनाइन्छ। यस दिन महिलाहरू व्रत बस्छन् र शिव–पार्वतीको पूजा अर्चना गरी पतिको दीर्घायु, सुख–समृद्धि र विवाह नभएका कन्याहरूको उत्तम वर प्राप्तिको कामना गर्छन्। महिलाहरू गीत–नाच र नाटकमार्फत आफ्नो अनुभव व्यक्त गर्दछन्।
गणेश चतुर्थी:
यस दिन पार्वतीले प्रसव वेदना रहित पुत्रको कामना गरेपछि भगवान गणेशको उत्पत्ति भएको मानिन्छ। गणेशको पूजा र व्रतले मनोकामना पूरा हुने विश्वास छ।
ऋषि पञ्चमी:
पाँचौँ दिन शुद्धिकरण, स्नान र सप्त ऋषिहरू (जमदग्नी, भारतद्वार, विश्वामित्र, कश्यप, गौतम, अत्री र वशिष्ठ) को पूजा अर्चना गरी तिजको व्रत सम्पन्न हुन्छ। यसले वर्षभरि भएका पापहरू मेट्ने विश्वास छ।
सांस्कृतिक र सामाजिक महत्व:
आजको समयमा तिज केवल धार्मिक पर्व नभएर सामाजिक एकता र महिला सशक्तिकरणको माध्यम पनि हो। तर कतिपय संस्थाहरूले तिजलाई आफ्नो प्रचार र राजनैतिक फाइदाका लागि प्रयोग गर्नु अनुचित ठानिन्छ। तिजको मौलिकता र सांस्कृतिक महत्वलाई प्राथमिकतामा राखेर मनाउनु आवश्यक छ।
अन्त्यमा:
हरितालिका तिज सबै जाति, वर्ग र समुदायको पर्व हो। यसले दिदी–बहिनीको सम्बन्ध बलियो बनाउने, माइतीघरसँगको सामिप्यता बढाउने र सांस्कृतिक पहिचान जगेर्ना गर्ने महत्वपूर्ण भूमिका खेल्दछ।
लेखक इन्द्र प्रसाद ओली राष्ट्रीय हिन्दु एकता मञ्च, नेपालका केन्द्रीय अध्यक्ष हुन ।

