Aamsanchar

इजरायलमा रहेका नेपालीले विपिन जोशीको परिवारलाई गरे १० लाख सहयोग

Author Image
आइतवार, भदौ ८, २०८२

तेलअविव –  इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायलको मुख्य पहलमा संकलन भएको १० लाख बढि नेपाली रुपैयाँ जोशीको परिवारलाई उपलब्ध गराएको हो।

 

एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरीका अनुसार संघको कोषबाट ५ हजार सेकल र अभियानमार्फत् १२ हजार सेकल जम्मा भएको छ। महासंघका अध्यक्ष सुर्य रानाका अनुसार महासंघमा आवर्द्ध ८ वटा जातिय संस्थाको पहलमा झण्डै १२ हजार सेकल संकलन भएको हो। साथै,व्यक्तिगत तथा अन्य संघसंस्थाबाट प्राप्त सहयोग समेत गरी हालसम्म १० लाख रुपैयाँ बढी संकलन भएको छ। अन्य व्यक्ति र संघ संस्थाहरूबाट पनि सहयोग गर्ने क्रम बढिरहेको छ।

२२ महिनाअघि अध्ययन र उज्जवल भविष्य कोर्ने सपना बोकेर इजरायल पुगेका विपिनलाई केही दिनमै हमासले अपहरण गरेको थियो। अहिले उनको अवस्थाबारे कुनै ठोस जानकारी सार्वजनिक नभए पनि परिवारजनले उनको सुरक्षित रिहाइका लागि विभिन्न तहमा अपील गर्दै आएका छन्।

हालै विपिनको आमा र बहिनी पुष्पा इजरायल आएर बन्धकको विषयमा आवाज उठाएका थिए। त्यही क्रममा उनीहरूको बसाइ,यात्रा खर्च,पुष्पाको पढाइ र परिवारको घरखर्च सहज होस् भन्ने उद्देश्यले नेपाली समुदायले सहयोग गरेका हुन् ।

विपिनकी बहिनी पुष्पाले सहयोगप्रति धन्यवाद दिएकी छन्। उनले भनिन्,’हाम्रो परिवारलाई यो कठिन समयमा ठूलो हौसला मिलेको छ। विपिन दाइको रिहाइको लागि हाम्रो अभियान अझै निरन्तर रहनेछ र इजरायलमा रहेका नेपाली समुदायले देखाउनु भएको नैतिक,आर्थिक र भौतिक सहयोग प्रति हामी कृतज्ञ छौं। ‘

समुदायका अगुवाहरूले यसलाई केवल आर्थिक सहयोग नभइ परिवारलाई नैतिक समर्थन भएको बताएका छन्। विपिनलाई घर फर्काउन अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने बताउँदै उनीहरूले यसमा नेपाली समुदाय निरन्तर जुट्ने विश्वास व्यक्त गरेका छन्।

इजरायलमा बन्धकहरूको रिहाइका लागि जारी प्रदर्शनमा नेपालीको उपस्थिती दैनिक बढ्दो क्रममा छ।

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर