

काठमाडौं । नेपालमा स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिने सिताके च्याउको उत्पादन मागको तुलनामा निकै न्यून देखिएको छ। यसले गर्दा बजारमा यसको मूल्य लगातार बढ्दो क्रममा रहेको छ।

कृषि प्रेसमा उल्लेख भए अनुसार हाल नेपालका करिब ७० जिल्लामा विभिन्न किसिमका च्याउ खेती भए पनि सिताकेको उत्पादन दैनिक करिब ६ सय किलोमा सीमित छ। देशभर करिब ३५ हजार किसान च्याउ खेतीमा संलग्न भए पनि उत्पादन आवश्यकताअनुसार नपुग्दा हरेक वर्ष नेपालले झण्डै १५–२० करोड रुपैयाँ बराबरको च्याउ आयात गर्ने गरेको छ।

बजार मूल्य हेर्दा, कालीमाटी फलफूल तथा तरकारी थोक बजारमा गत फाल्गुन महिनामा सिताके च्याउको मूल्य प्रतिकिलो ९ सय रुपैयाँमा पुगेको थियो। चैत्रमा केही घटेर ७ सय ५० रुपैयाँ भए पनि हालै भदौ महिनामा फेरि प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ। खुद्रा बजार र अनलाइन प्लेटफर्महरूमा भने यसको मूल्य अझै बढेर प्रतिकिलो ९ सय ९९ देखि १ हजार २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।


पाल्पा, ललितपुरसहित केही जिल्लामा व्यावसायिक रूपमा सिताके च्याउ उत्पादन गर्ने प्रयास भएको छ। पाल्पाका किसान राजु विष्टले मात्र २०७८ सालमा करिब ११ सय किलो उत्पादन गरी गुणस्तरअनुसार प्रतिकिलो ६ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री गरेका थिए। यस्तै, अन्य किसानहरूले पनि काठको लगमा खेती गरेर थोरै मात्रामा उत्पादन सुरु गरेका छन्।
विशेष पोषण तत्वका कारण सिताके च्याउलाई ‘औषधीय च्याउ’ मानिन्छ। मोटोपना घटाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, क्यान्सर, मुटुरोग नियन्त्रण र छालासम्बन्धी समस्या समाधानमा यसलाई उपयोगी मानिन्छ।
तर, उत्पादन लागत उच्च, आवश्यक प्राविधिक ज्ञान र लगको सहज अभावकै कारण व्यावसायिक स्तरमा ठूलो मात्रामा खेती विस्तार हुन सकेको छैन। विज्ञहरूका अनुसार सरकारले प्रविधि र लगानीमा सहयोग पुर्याएमा नेपालमै सिताके च्याउ आत्मनिर्भर उत्पादन गर्न सकिने सम्भावना ठूलो छ।

