

गोरखा – विद्युत ट्रान्सफर्मर चोरेको आरोपमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ। सिरानचोक गाउँपालिका-२ झिम्रेक बनपालेस्थित थालाजुङ घर्तीपानी खनालथोक ग्रामीण विद्युतीकरण केन्द्रको ५० केभीए क्षमताको ट्रान्सफर्मर चोरी गरेको आरोपमा बली सहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

रौतहट गरुडा नगरपालिका-२ घर भई हाल गोरखा नगरपालिका-१० छेपेटारको कवाडी सामान संकलन केन्द्रमा काम गर्ने २८ वर्षका सहनीलाई सोमबार पक्राउ गरेको डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

आइतबार साँझ सात बजेतिर त्यहाँको ट्रान्सफर्मर फुटाई सोभित्र रहेको तामाको तार लगायतका सामानहरू चोरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

सो ग्रामीण विद्युतीकरण केन्द्रका प्रतिनिधिको जाहेरीका आधारमा प्रहरीले चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको डीएसपी सुवेदीले जानकारी दिए।

