Aamsanchar

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियासम्मको उडान

Author Image
बिहिवार, भदौ १२, २०८२

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियासम्मको उडान मार्ग खुलेको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया जाने योजना अघि बढाएसँगै, पोखरालाई अन्तरराष्ट्रिय यातायातको केन्द्रका रूपमा विस्तार गर्ने सम्भावना बलियो बनेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरलाइन्सले आवश्यक प्रक्रिया पूरा गरेर अनुमति मागेको छ र आगामी सेप्टेम्बरदेखि नै उडान सुरु गर्ने तयारी भइरहेको छ । यसले अष्ट्रेलिया आवत–जावत गर्ने नेपाली यात्रुलाई थप सहजता दिने विश्वास गरिएको छ ।

यसअघि सिचुवान एयरलाइन्सले पोखराबाट चार्टर्ड उडान गरिसकेको थियो भने, अहिले भने अष्ट्रेलियालाई नियमित गन्तव्य बनाउन खोजिएको हो । पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार हाल हिमालय एयरलाइन्स मात्रै नियमित उडान गर्दै आएको छ, तर चाँडै सिचुवानसहित भूटान एयरलाइन्स पनि जोडिने तयारीमा छन् ।

भूटान एयरलाइन्सले पनि सेप्टेम्बर २८ र अक्टोबरमा पारो–पोखरा मार्गमा यात्रु चार्टर्ड उडान गर्न प्राधिकरणसँग अनुमति मागेको छ । सुरुवातमा परीक्षण उडान भए पनि दिगो देखिएपछि पोखरा–दिल्लीमार्ग जोड्ने योजना रहेको छ ।

उता भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पनि नयाँ उडानको चहलपहल बढ्दै छ । जजिरा एयर र थाई एयर एसियाले आगामी ‘विन्टर सेड्युल’ मा पुनः उडान सुरु गर्ने तयारी गरेका छन् ।

सरकारले पोखरा र भैरहवामा अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पार्किङ, ल्यान्डिङ, न्याभिगेसनदेखि यात्रु सेवा शुल्कसम्मका सबै शुल्कमा छुट दिएको छ । प्राधिकरणले यो छुटले विदेशी वायुसेवाहरूलाई यी दुई विमानस्थलमा आकर्षित गर्ने र अन्तरराष्ट्रिय उडान विस्तारको बाटो खुला गर्ने विश्वास लिएको छ ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर