

काठमाडौँ – चाडबाड नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ।

धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरी महानगरपालिकाले दुई लाख जरिवाना तिराएको छ। शिलबन्दी अवस्थामा बजारमा बिक्री भइरहेको उक्त मदिरामा झिँगा फेला परेपछि महानगरपालिकाले कारबाहीस्वरूप जरिवाना तिराएको महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागका प्रमुख नूरनिधि न्यौपानेले जानकारी दिए।

प्रमुख न्यौपानेका अनुसार उपभोक्ताले गरेका गुनासोको आधारमा महानगरपालिकाले अनुगमन गरेको थियो। विभागले मदिराको नमूना सङ्कलन गरी जाँच गरेको थियो। जाँचका क्रममा शिलबन्दी बोतलभित्र अखाद्य वस्तु फेला परेको पुष्टि भएपछि महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार कारबाही र जरिवाना गरिएको हो।

विभागका अनुसार, जरिवाना रकम महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि यसको जानकारी विभागमा पेश गर्नुपर्नेछ। महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको समेत जनाएको छ।
महानगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। त्यस्तै वसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन गर्दा ३१ लिटर अखाद्य तेल नष्ट गरेको छ।
महानगरपालिकाले वडा नम्बर २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको चार रेस्टुराँ र एक मिठाई पसलको अनुगमन गर्दा अखाद्य तेल भेटेपछि नष्ट गरेको हो। टोलीले व्यवसायीलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, साकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न निर्देशन समेत दिएको छ।

