Aamsanchar

दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

Author Image
शनिवार, भदौ २१, २०८२

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै छन् । काठमाडौंको दशरथ रंगशालामा हुने खेल आज साँझ ५:३० बजेदेखि हुने तय भएको छ ।

दुवै खेलको विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ । दुवै टिमले मैत्रीपूर्ण फुटबलका लागि आफूहरू तयार रहेको र जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने बताएका छन् ।

मैत्रीपूर्ण फुटबलअघि शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मैत्रीपूर्ण खेलका लागि तयारी अवस्थामा रहेको र जित हासिल गर्ने बताए । घरेलु मैदानमा खेल हुने भएकाले पनि आफूहरू उत्साहित रहेको उनको भनाइ छ ।

त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मैत्रीपूर्ण खेलमा जितको लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताएका थिए । उनले पनि घरेलु मैदानमा राम्रो प्रतिस्पर्धा हुने र जित हासिल गर्ने जिकिर गरे ।

बंगलादेशका प्रशिक्षक र कप्तानले पनि बलियो टिम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए ।

मैत्रीपूर्ण खेलका लागि भीआईपीतर्फको टिकट एक हजार र सामान्य पारापिटतर्फको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर