Aamsanchar

नेपालमा पर्यटक आगमन वृद्धि, खर्च भने घट्यो

Author Image
सोमवार, असोज ६, २०८२

काठमाडौँ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म (८ महिना) कुल ७ लाख ३६ हजार ५ सय ६२ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा १६ हजार २ सय २८ ले बढी हो ।

केवल अगस्ट महिनामात्रै हेर्दा ८८ हजार ६ सय ८० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको सोही महिनाको भन्दा १५ हजार ९ सय ६१ ले बढी हो । यसअघि जुलाई महिनामा ७० हजार १ सय ९३, जुनमा ७६ हजार ४ सय २५, मे महिनामा ८६ हजार २ सय १६ र अप्रिल महिनामा १ लाख १६ हजार ४ सय ९० जना पर्यटक आएका थिए ।

पर्यटन बोर्डका अनुसार २०८०/८१ आर्थिक वर्षमा नेपालमा ११ लाख १७ हजार पर्यटक आएका थिए भने २०८१/८२ मा यो संख्या बढेर ११ लाख २८ हजार पुगेको छ ।

पर्यटकको औसत बसाई अवधि भने अलिक बढेको छ । गत आर्थिक वर्षमा १३.२ दिन बस्ने गरेका पर्यटक यस वर्ष १३.३ दिन बसेका छन् । तर, प्रतिपर्यटक दैनिक खर्चमा कमी आएको छ । गत आर्थिक वर्षमा ४१ अमेरिकी डलर खर्च गर्ने पर्यटकले यस वर्ष ४०.८ डलर मात्र खर्च गरेका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय उडान गन्तव्यको संख्या पनि घटेको छ । २०८०/८१ मा ३० शहरसँग हवाई सम्पर्क रहेको नेपालमा २०८१/८२ को अन्त्यसम्ममा गन्तव्य घटेर २८ मात्र भएको छ ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर